काठमाडौं, असोज ११ । उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरी उनकै सुरक्षाका लागि राति घरबाट लगिएको दाबी गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार शनिबार राति पूर्वप्रधान्यायाधीश जबरालाई भौतिक आक्रमण हुने खतरा देखिएपछि प्रहरीले सुरक्षाका लागि महाराजगन्जस्थित घरबाट अपराध अनुसन्धान कार्यालयमा लगेको हो। यसलाई पक्राउ भन्न नमिल्ने उनको तर्क छ ।
‘शनिबार राति उहाँलाई भौतिक आक्रमण हुँदै छ भन्ने सूचना प्राप्त भयो’, एसएसपी थापाले भने, ‘त्यसपछि हामी गएर ल्याएका हौँ। अरू केही पनि होइन।’
घरमा भन्दा आफ्नो कार्यालयमा ल्याउँदानै सुरक्षित हुने देखर जबरालाई कन्भिन्स गरेरै ल्याइएको उनले दाबी गरे । खड्काले राणा अहिले पनि सुरक्षाका लागि आफूहरूसँगै रहेको बताएका छन् । उनी सुरक्षित हुने सुनिश्चिततापछि घर पठाउने वा अन्यत्र सुरक्षित राखिने उनले जानकारी दिए ।
‘तत्काललाई हाम्रो प्राथमिकतामा उहाँको सुरक्षा पर्थ्यो। त्यसैले उहाँलाई सुरक्षा दिइएको हो। बाँकी केही पनि होइन।’ उनले भने, उहाँजत्तिको प्रोटोकल भएको व्यक्तिलाई हामीले यत्तिकै पक्राउ गर्ने भन्ने हुँदैन । अहिले पनि सुरक्षाका लागि हामीसँगै हुनुहुन्छ । उहाँ सुरक्षित हुने सुनिश्चिततापछि घरमा पठाउने वा अन्यत्र सुरक्षित राख्ने भन्ने कुरा हुन्छ ।'
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति महाराजगन्जस्थित निवासबाटै जबरालाई नियन्त्रणमा लिएको हो।
२०७५ पुस १७ गते प्रधानन्यायाधीश बनेका उनीविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाभियोग दर्ता गरिएको थियो। त्यसपछि उनको पद निलम्बन भएको थियो।



