२०८३, असोज २० गते

मंगलबार, असोज २० गते २०८३

मंगलबार, असोज २० गते २०८३

एमालेमा अब ओलीको आलोचना गर्न प्रतिबन्ध, आलोचना गरे कारवाही हुने अपानि जारी

एमालेमा अब ओलीको आलोचना गर्न प्रतिबन्ध, आलोचना गरे कारवाही हुने अपानि जारी

साझा पोष्ट
मंगलबार, असोज २० २०८३
  • images
    images
    एमालेमा अब ओलीको आलोचना गर्न प्रतिबन्ध, आलोचना गरे कारवाही हुने अपानि जारी

    काठमाडौं, असोज २० । नेकपा एमालेले नेतृत्वको आलोचना गरे कडा अनुशासनको कारबाही गर्ने भएको छ । एमालेले पार्टीको नीति, निर्णय र नेतृत्वको सार्वजनिक रूपमा आलोचना, विरोध वा अपमान गर्ने नेता–कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको हो । 


    images

    यही असोज ८ गते सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार अबदेखि यो पार्टीका नेता कार्यकर्ताहरुले पार्टी नीति, निर्णय र नेतृत्वमाथि प्रश्न गरे सिधै कारबाहीको भागीदार बन्नुपर्ने निर्देशनसहितको अपानि पार्टी पङ्क्तिलाई पठाइएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेर असोज १८ गते पार्टी पङ्क्तिलाई पठाएको अन्तरपार्टी निर्देशनमा पार्टीका कुनै पनि विषयमा सार्वजनिक रूपमा प्रश्न, आलोचना गरे कारबाहीको विषय बनाउन भनिएको छ ।

    एमालेले पार्टीमा हुर्किँदै गएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनता अन्त्य गरी एकताबद्ध र सुदृढ पार्टी निर्माण गर्न यस्तो निर्णय गर्नुपरेको जनाएको छ ।

    ‘पार्टीको नीति, निर्णय र नेतृत्वको विरुद्ध सार्वजनिक रूपमा आलोचना वा विरोध गर्ने, स्वेच्छाचारी, अराजक वा अनुशासनहीन क्रियाकलाप गर्ने वा गुटबन्दी गर्ने प्रवृत्तिमा पूर्णरुपमा रोक लगाउने र पार्टीमा अनुशासन पुनर्स्थापित गर्ने’, अध्यक्ष ओलीले जारी गरेको अपानिमा भनिएको छ, ‘आजसम्म जो–जसले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने । केन्द्रीय कमिटीको चालू बैठकलाई कटअफ बैठक मान्ने ।’

    यसअघि एमालेमा पार्टी पुनर्गठनको विषयलाई लिएर नेता कार्यकर्ताहरूले दिएको अभिव्यक्तिलाई आधार बनाएर एमालेले यस्तो निर्देशन दिएको हो । 

    ‘अब उप्रान्त कसैले पार्टीको नीति, निर्णय र नेतृत्वको विरुद्धमा सार्वजनिक रूपमा आलोचना, विरोध, निन्दा, अपमान गरेमा वा गुटबन्दी गरेमा वा अराजक तथा अनुशासनहीन क्रियाकलाप गरेमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने’, अध्यक्ष ओलीले अपानिमार्फत पार्टी कमिटीलाई भनेका छन् ।

    एमालेले अब पुस्तान्तरणलाई घोषणामा नभएर प्रणालीमै बदल्ने दाबी समेत गरेको छ ।

    ‘प्रत्येक तहमा नेतृत्व विकासको योजना चाहिन्छ । युवा नेतृत्व केवल कोटाबाट होइन, जिम्मेवारीबाट विकास हुनुपर्छ’, एमालेको अपानिमा भनिएको छ, ‘प्रशिक्षण चाहिन्छ । वैचारिक शिक्षण चाहिन्छ । जनसम्पर्क चाहिन्छ । स्थानीय समस्या समाधानको अभ्यास चाहिन्छ । डिजिटल सञ्चारको दक्षता चाहिन्छ । नीति निर्माणमा सहभागिता चाहिन्छ । सङ्गठन चलाउने अवसर चाहिन्छ । चुनावी मैदानमा परीक्षण चाहिन्छ । परिणाम मापन चाहिन्छ ।’

    महिला नेतृत्वको प्रश्न पनि यहीसँग जोडिएको भन्दै एमालेले आधा समाजलाई प्रतिकात्मक प्रतिनिधित्व दिएर पार्टी आधुनिक नबन्ने व्याख्या गरेको छ ।

    एमालेले पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्षपछिको बरियतासहित वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । भण्डारीलाई दोस्रो वरियता दिएर सक्रिय राजनीति गर्ने बाटो खोलेको एमालेले स्थानीय तहदेखि केन्द्रीय नेतृत्वसम्म योजना बनाएर अगाडि बढाउनुपर्ने बताएको छ ।

    ‘युवा र महिला नेतृत्वलाई केवल ताली पाउने मञ्चमा होइन, कठिन जिम्मेवारीमा राख्नुपर्छ । नेतृत्व सुविधा पाएर होइन, जिम्मेवारी बोकेर निर्माण हुन्छ’, एमालेले भनेको छ ।

    एमाले रूपान्तरण हुने तर विचार र इतिहासलाई कमजोर बनाउन नहुने एमालेको दृष्टिकोण रहेको पनि अपानिमा भनिएको छ ।

    युवा पुस्तालाई नेतृत्व हस्तान्तरणको बहस भइरहेका बेला एमालेले अहिले नै नेतृत्व हस्तान्तरणको समय र पात्र तयार नभएको बताएको छ ।

    ‘नेतृत्व हस्तान्तरण हुन्छ । तर त्यो विधिसम्मत हुनुपर्छ । नेतृत्व कुनै व्यक्तिको निजी सम्पत्ति होइन । पार्टी कसैको व्यक्तिगत कुरा होइन । एमाले विचारको धारा हो, जनताको भरोसा हो, कार्यकर्ताको पसिना हो, सहिदको सपना हो, सङ्घर्षको निरन्तरता हो’, हस्तान्तरणबारे अपानिमा थप व्याख्या गर्दै ओलीले भनेका छन्, ‘त्यसैले कुनै पनि नेतृत्व स्थायी हुँदैन । मैले पनि आफूलाई स्थायी ठानेको छैन । म बाटो रोक्दिनँ । म बाटो सुरक्षित बनाउन आएको हुँ । कसैले चाहेर पनि सधैँका लागि हुनै सक्दैन ।’

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार