काठमाडौं,असोज २५ । गृहमन्त्री सुदन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा बुढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहत वितरणलाई सरकारले तीव्रता दिएको बताएका छन् ।
आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राहत सामग्रीसहित उद्धारका काम भइरहेको जानकारी दिए ।
बाढीका कारण जलविद्युत् आयोजनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउन सोलारमार्फत बत्ती जडान गर्ने काम भइरहेको उनले बताए ।
त्यस्तै, टेलिफोनलगायत सञ्चार सेवा पुनःस्थापना गर्ने प्रयास पनि भइरहेको उनको भनाइ छ । गोरखाको उत्तरी क्षेत्रमा आइतबार बिहान आएको भीषण बाढीले बुढीगण्डकी नदी आसपासका बस्तीमा ठूलो क्षति पुर्याएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण र आधारभूत सेवा पुनःस्थापनाका काम अघि बढाइएको गृहमन्त्री गुरुङले जानकारी दिए ।



