काठमाडौं, असोज ३०। यमनको अन्तरिम राजधानी अदनस्थित राष्ट्रपति भवन परिसरमा हुथी विद्रोहीले मिसाइल आक्रमण गरेका छन् । आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
आक्रमणमा परी मृत्यु हुनेमा प्रधानमन्त्रीका दुई सुरक्षागार्डहरु पनि छन् । यो जानकारी यमनका स्वास्थ्य मन्त्रीले दिएको अलजजिराले जनाएको छ । अरुको पहिचान खुलेको छैन ।
रोयटर्सका अनुसार आक्रमणका बेला प्रधानमन्त्री र केही मन्त्रीहरु राष्ट्रपति भवन परिसरमा थिए । यद्यपि, सरकारका उच्च अधिकारीहरू भने सकुशल रहेको बताइएको छ ।
आक्रमणपछि राष्ट्रपति भवन परिसरमाथि धुवाँको ठूलो मुस्लो देखिएको थियो । प्रारम्भिक विवरणअनुसार परिसरमा कम्तीमा पाँचवटा मिसाइल प्रहार भएका थिए ।
हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिँदै अदनमा रहेको साउदी अरबको सैन्य अभियान मुख्यालयलाई निशाना बनाएको दाबी गरेका छन् ।
हुथी सैन्य प्रवक्ता याह्या सरीले साउदी अरबको सैन्य उपस्थितिलाई लक्षित गर्ने आफ्नो घोषित नीतिअनुसार आक्रमण गरिएको बताएका छन् । उनका अनुसार साउदी सेनाको सैन्य गतिविधि र जमघट देखिएका स्थानलाई निशाना बनाइनेछ ।



