काठमाडौं, कात्तिक ६ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । घाइते मध्ये ११ जनाको अवस्था गम्भीर छ भने २१ जनालाई सामान्य चोट लागेको छ ।
नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो ।
शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको विवरणअनुसार भूकम्पले ३०० भन्दा बढी घर भत्किएका छन् ।
भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् ।
भूकम्पबाट भएको समग्र क्षतिको आकलन भइरहेको र प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।



