काठमाडौं, कात्तिक ८ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नपाएका कारण अनिश्चित बनेको छ।
एनपीएलसँग सम्बन्धित विभिन्न व्यक्तिहरूसँग क्रिकइन्फोले गरेको कुराकानीमा यसअघि नै एनओसी पाइसकेका खेलाडीहरूलाई समेत लिगमा सहभागी हुन दिइएको अनुमति हाललाई रोकिएको जानकारी दिइएको छ।
एनपीएलसँग सम्बन्धित व्यक्तिहरूका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनओसी जारी गर्न शुल्क मागेको छ। प्रत्येक पाकिस्तानी खेलाडीका लागि करिब २५ हजार अमेरिकी डलर शुल्क मागिएको विश्वास गरिएको छ। यद्यपि, यस्तो माग लिखित रूपमा लिग आयोजकसमक्ष राखिएको हो वा होइन भन्ने कुरा क्रिकइन्फोले पुष्टि गर्न सकेको छैन।
आठ टोली सहभागी एनपीएल यस वर्ष अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुँदैछ। प्रतियोगिताका खेलहरू काठमाडौंमा आयोजना हुनेछन्। प्रतियोगितामा खेल्नुपर्ने केही पाकिस्तानी खेलाडी काठमाडौं आइसकेका छन्। अन्य केही खेलाडी भने समस्या समाधान नभएसम्मका लागि आफ्नो यात्रा स्थगित गरेको बुझिएको छ।
एनओसी जारी गर्न मागिएको शुल्क नै विवादको मुख्य कारण बनेको हो वा वास्तवमै त्यस्तो शुल्क मागिएको हो भन्ने कुरा अझै स्पष्ट भएको छैन। यस विषयमा प्रतिक्रिया माग्दै क्रिकइन्फोले गरेको अनुरोधमा पाकिस्तान क्रिकेट बोर्डले तत्काल जवाफ दिएको छैन।
एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीहरूमा पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान, हैदर अली, हुनैन शाह, हुसेन तलात, इफ्तिखार अहमद, हसन अली र उसामा मिर रहेका छन्। यीमध्ये कुनै पनि खेलाडी एनपीएलको मितिसँग जुध्ने पाकिस्तानको राष्ट्रिय टोलीको कुनै पनि प्रतियोगिताका लागि घोषित टोलीमा छैनन्।
यसै वर्षको सुरुवातमा पाकिस्तान क्रिकेट बोर्डले नयाँ केन्द्रीय सम्झौता संरचना सार्वजनिक गरेको थियो। उक्त संरचनामा सीमित ओभरको क्रिकेट (ह्वाइट बल) र लामो प्रारूपको क्रिकेट (रेड बल) लाई स्पष्ट रूपमा छुट्याइएको थियो।
यस संरचनामा ‘फर्म्याट ट्र्याक डी’ नामको श्रेणी पनि समावेश गरिएको थियो, जसअन्तर्गत पर्ने खेलाडीहरूलाई टी–२० क्रिकेटका विशेषज्ञका रूपमा वर्गीकरण गरिएको थियो। सैद्धान्तिक रूपमा यस व्यवस्थाले त्यस्ता खेलाडीलाई पीसीबीले तोकेको अन्तर्राष्ट्रिय जिम्मेवारीसँग प्रतियोगिताको मिति नजुधेसम्म आफूले चाहेका जति टी–२० लिग खेल्ने स्वतन्त्रता दिने व्यवस्था गरेको थियो।
यद्यपि, पाकिस्तान क्रिकेट बोर्डले अहिलेसम्म कुन खेलाडी कुन ट्र्याकमा पर्छन् भन्ने सार्वजनिक गरेको छैन। नयाँ सम्झौता संरचना पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको छ वा छैन भन्ने विषय पनि स्पष्ट छैन। यस वर्ष एनपीएलमा सहभागी हुने कुनै पनि खेलाडी हाल पाकिस्तानको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वा टेस्ट टोलीको योजनामा छैनन्।



