काठमाडौं, कात्तिक २९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रयोग गरिएपछि क्षति पुगेको काठमाडौँको खुलामञ्चमा दुबो पुनःरोपण तथा मर्मतसम्भारको काम सुरु गरिएको छ।
महाधिवेशनका विभिन्न कार्यक्रम तथा सहभागीहरूको चहलपहलका कारण खुलामञ्चको हरियाे दुबो मासिएपछि मैदानलाई पुनः हरियाली र सुन्दर बनाउने उद्देश्यले पुनःरोपण सुरु गरिएको हो।
नेपाली कांग्रेस काठमाडौँ महानगर समितिको पहलमा खुलामञ्चमा मासिएको दुबो हटाएर नयाँ दुबो रोप्ने तथा क्षतिग्रस्त स्थानको मर्मतसम्भार गर्ने काम भइरहेको छ।
खुलामञ्चको प्राकृतिक सौन्दर्य र हरियाली कायम राख्दै मैदानलाई पुरानै अवस्थामा फर्काउने लक्ष्यसहित पुनःरोपणको काम अघि बढाइएको हो।
पुनःरोपणपछि खुलामञ्चको हरियाली र सौन्दर्य पुनः फर्किने अपेक्षा गरिएको छ। आइतबार नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भए । क्षति पुगेका स्थानमा चितवनबाट ल्याइएको दुबो रोपिएको छ । पार्टीका अनुसार पछिल्लो एक महिनादेखि नियमित सिँचाइ, मलखाद र मर्मतसम्भारको कामसमेत भइरहेको छ ।

नेपाली कांग्रेस काठमाडौँ महानगर समितिका सभापति सुसन वैद्यले महाधिवेशनका क्रममा भएको क्षतिलाई पार्टीले आफ्नो दायित्वका रूपमा लिएको बताए । कार्यक्रमअघि नै खुलामञ्च जुन अवस्थामा लिइएको हो, त्यही अवस्थामा फर्काएर हस्तान्तरण गर्ने प्रतिबद्धता गरिएको उनले बताए ।
३० दिनमा पुरानै अवस्थामा फर्काउने लक्ष्य
दुबो पुनःरोपण तथा मर्मतसम्भारको प्राविधिक जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्ट्सका थमन भूसालका अनुसार अहिले प्रारम्भिक चरणको रोपण कार्य भइरहेको छ । रोपिएको दुबोलाई आवश्यकताअनुसार थिच्ने, माटो मिलाउने, खनजोत गर्ने र सिँचाइ तथा मलखादको व्यवस्था गरेर अन्तिम रूप दिइने छ ।
उनका अनुसार अहिलेको मौसममा दुबोलाई पूर्ण रूपमा स्थापित गरी पुरानै अवस्थामा फर्काउन न्यूनतम ३० दिन लाग्ने अनुमान छ । काम सम्पन्न भएपछि वास्तविक लागत विवरणसमेत तयार गरिने उनले बताए ।




