काठमाडौं, कात्तिक २९ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने औपचारिक भ्रमणका लागि आईतवार चीन प्रस्थान गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपा सांसदको टोली चीन गएको हो । प्रतिनिधिमण्डलले दुई देशबीचको राजनीतिक सम्बन्ध विस्तारसँगै विपद् व्यवस्थापन र आर्थिक सहकार्यका विषयमा छलफल गर्नेछ ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यलेभ्रमणको मुख्य उद्देश्य दुई देशका सत्तारुढ राजनीतिक दलबीचको सम्बन्धलाई नयाँ आयाम दिनु रहेको बताए । महामन्त्री आचार्यकाअनुसार भ्रमण मुख्यतः तीनवटा विषयमा केन्द्रित हुनेछ । पहिलो, राष्ट्रिय स्वतन्त्र पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच पारस्परिक सम्बन्ध विस्तार तथा राजनीतिक अनुभव र ज्ञान आदानप्रदान गर्ने विषय रहेको छ । दुई पार्टीबीचको सम्बन्धलाई आधार बनाएर भविष्यमा नेपाल र चीनबीच राज्यका विभिन्न क्षेत्रमा सहकार्यका सम्भावना खोजिने उनले बताए । ज्ञान, अनुभव र प्रविधि आदानप्रदानदेखि अन्य बहुआयामिक क्षेत्रमा सहकार्यका अवसर पहिचान गर्ने भ्रमणको उद्देश्य रहेको उनको भनाइ छ ।
दोस्रो प्राथमिकतामा विपद्पछिको व्यवस्थापन रहेको छ । नेपाल भूकम्प, बाढीपहिरो तथा हिमाली क्षेत्रमा देखिने ठूला प्राकृतिक विपद्को जोखिममा रहेको उल्लेख गर्दै आचार्यले चीनले यस्ता विपद्को सामना र व्यवस्थापन कसरी गर्छ भन्ने विषयमा अध्ययन तथा अनुभव आदानप्रदान गरिने बताए । विशेषगरी विपद्का बेला उद्धार, राहत, पुनःस्थापना र विपद्पछिको व्यवस्थापनमा चीनले अपनाउँदै आएका अभ्यासबारे जानकारी लिने र त्यस क्षेत्रमा सहकार्यका सम्भावना खोजिने उनले जानकारी दिए । त्यस्तै, तेस्रो विषयका रूपमा व्यापार, व्यवसाय र अर्थतन्त्रसँग सम्बन्धित बहुआयामिक पक्षमा छलफल गरिनेछ ।
उदाउँदो विश्व आर्थिक शक्तिका रूपमा रहेको चीनबाट नेपालले कसरी लाभ लिन सक्छ भन्ने विषयमा विचार आदानप्रदान गरिने आचार्यले बताए । उनकाअनुसार आर्थिक सहकार्यका सम्भावना पहिचान गरी भविष्यमा दुई देशबीच उच्चस्तरीय भ्रमण तथा छलफलका लागि आधार तयार गर्ने उद्देश्यसमेत प्रतिनिधिमण्डलको रहेको छ । आचार्यले रास्वपा सभापति वा प्रधानमन्त्रीको आगामी चीन भ्रमणका क्रममा थप ठोस छलफल र सहकार्य अघि बढाउन अहिलेको प्रतिनिधिमण्डलको भ्रमणले आधार तयार गर्ने विश्वास व्यक्त गरे ।
आचार्यले भने, ‘ भ्रमणको मुख्य उद्देश्य दुई पार्टीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपाल–चीन सम्बन्धमा सहकार्यका नयाँ सम्भावना खोज्नु हो । भ्रमणका क्रममा मुख्यतः तीन विषयमा केन्द्रित रहेर छलफल हुनेछ । पार्टीगत सम्बन्ध र सहकार्यः दुई पार्टीबीच पारस्परिक सम्बन्ध विस्तार, ज्ञान आदानप्रदान र भविष्यमा राज्यका विभिन्न क्षेत्रमा सहकार्यका सम्भावना खोज्ने, विपद् व्यवस्थापनः भूकम्प, बाढीपहिरो लगायतका विपद्पछिको व्यवस्थापनमा चीनको अनुभव र अभ्यासबारे जानकारी लिने तथा सहकार्यका क्षेत्र पहिचान गर्ने, आर्थिक तथा व्यावसायिक सहकार्यः चीनको आर्थिक विकासबाट नेपालले लिन सक्ने अवसर, लगानी, व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाबारे छलफल गर्ने, यस भ्रमणले भविष्यमा पार्टी सभापति तथा सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमणका लागि समेत संवाद र सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा भएका गतिविधि र छलफलका विषयहरू समयक्रममा सञ्चारमाध्यममार्फत सार्वजनिक गरिनेछन् ।’
यस भ्रमणलाई रास्वपाले दुई देशबीचको राजनीतिक सम्बन्ध विस्तारसँगै विपद् व्यवस्थापन र आर्थिक सहकार्यका सम्भावना पहिचान गर्ने अवसरका रूपमा लिएको छ । –न्युज एजेन्सी नेपाल



