२०८३, मंसिर ५ गते

शुक्रबार, मंसिर ५ गते २०८३

शुक्रबार, मंसिर ५ गते २०८३

एनपीएलको फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम भिड्दै

एनपीएलको फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम भिड्दै

साझा पोष्ट
बिहीबार , मंसिर ४ २०८३
  • images
    एनपीएलको फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम भिड्दै
    images

    काठमाडौं, मंसिर ३ ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।


    images

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । फाइनल प्रवेशका लागि दुवै टोली जित्नैपर्ने दबाबमा मैदान उत्रनेछन् ।

    पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्न लागेको हो । चितवनले भने एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । चितवन पहिलो पटक एनपीएलको फाइनल पुग्ने लक्ष्यमा छ भने सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेर पहिलो उपाधि जित्ने अभियानमा छ । त्यसैले आजको खेल दुवै टोलीका लागि प्रतिष्ठा र उपाधि यात्राको निर्णायक भिडन्त हुनेछ ।

    चितवनको मनोबल उच्च

    काठमाडौंविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको चितवन आज पनि त्यही लयलाई निरन्तरता दिने योजनामा हुनेछ । काठमाडौंविरुद्ध चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो ।

    चितवनका कामिल मिशाराले नट आउट १२० रन बनाउँदै एनपीएल इतिहासकै उच्च व्यक्तिगत स्कोरको कीर्तिमान कायम गरेका थिए । उनले ५९ बलमा १० छक्का र ५ चौका प्रहार गरेका थिए । कप्तान रवि बोपाराले पनि ४२ बलमा ५३ रनको योगदान दिएका थिए ।

    बलिङमा रिजन ढकालले ४ तथा उसामा मिरले ३ विकेट लिँदै काठमाडौंलाई १४३ रनमै सीमित गरेका थिए ।

    सुदूरपश्चिमलाई पुनरागमनको अवसर

    लिग चरणमा दोस्रो स्थान हासिल गरेको सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि दबाबमा छ । लुम्बिनीविरुद्ध सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर १०५ रन मात्रै बनाउन सकेको थियो ।

    कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिमका लागि जर्ज मुन्से, स्कट कुगेलेइन, विनोद भण्डारी र आरिफ शेख महत्वपूर्ण खेलाडी हुन् । बलिङमा अनिल खरेल र कुगेलेइनको प्रदर्शन टोलीका लागि निर्णायक बन्न सक्छ ।

    सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनल पुग्ने लक्ष्यमा छ । यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको थियो ।

    हेड टु हेड

    यी दुई टोलीबीचको पछिल्लो प्रतिस्पर्धामा सुदूरपश्चिम बलियो देखिएको छ । जारी सिजनको लिग चरणमा भएको भेटमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले पराजित गरेको थियो ।

    तर, चितवनले पनि सुदूरपश्चिमलाई हराएको इतिहास छ । पहिलो संस्करणको लिग चरणमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हराएकाे थियो ।

    आजको खेल जित्ने टोलीले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । पराजित हुने टोलीको उपाधि यात्रा समाप्त हुनेछ ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार