काठमाडौं, मंसिर ३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२७ को जुनमा विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ ।
इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले आगामी जुन ३ मा नेपाल र बंगलादेशबीचको टी–२० अन्तर्राष्ट्रिय खेल लर्ड्समा आयोजना गर्ने घोषणा गरेको हो । यो खेल नेपाली समयअनुसार समर्थकले प्रत्यक्ष टेलिभिजनमार्फत हेर्न सक्ने गरी समय निर्धारण गरिने एमसीसीले जनाएको छ ।
लर्ड्समा नेपालले दोस्रोपटक पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यसअघि सन् २०१८ मा नेपालले एमसीसी र नेदरल्यान्ड्ससँगको त्रिकोणात्मक शृंखलामा उक्त मैदानमा खेलेको थियो ।
नेपालका लागि यो खेल अर्को अर्थमा पनि ऐतिहासिक हुनेछ । पहिलोपटक आईसीसीको पूर्ण सदस्य राष्ट्र बंगलादेशसँग लर्ड्स मैदानमा नेपालको प्रतिस्पर्धा हुन लागेको हो । बंगलादेशले पनि पुरुषतर्फ पहिलोपटक लर्ड्समा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
एमसीसीले आयोजना गर्ने इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले स्कटल्यान्ड र आयरल्यान्डसँग पनि आधिकारिक अन्तर्राष्ट्रिय खेल खेल्नेछ । भ्रमणमा नेपालले कुल ६ खेल खेल्ने तालिका सार्वजनिक गरिएको छ ।
नेपालले जुन १ मा वर्म्स्लीमा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्दै भ्रमण सुरु गर्नेछ । त्यसपछि जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ ।
यस्तै, जुन ६ मा आयरल्यान्डसँग ५० ओभरको खेल हुनेछ । जुन ९ मा वर्म्स्लीमै आयरल्यान्डसँग टी–२० खेल्ने नेपालले जुन ११ र १२ मा बेकनह्यामस्थित काउन्टी मैदानमा आयरल्यान्डसँग थप दुई टी–२० खेल खेल्नेछ ।
एमसीसीका अनुसार भ्रमणका सबै खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यताप्राप्त र इंग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) बाट स्वीकृत अन्तर्राष्ट्रिय खेल हुनेछन् ।
एमसीसीका प्रमुख कार्यकारी तथा सचिव रोबर्ट लसनले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्बन्ध पछिल्ला वर्षमा थप बलियो बन्दै गएको बताएका छन् । नेपाली क्रिकेटप्रति यहाँका समर्थकको असाधारण लगाव रहेको उल्लेख गर्दै उनले नेपाल र बंगलादेशलाई लर्ड्समा स्वागत गर्न आफूहरू उत्साहित रहेको बताए ।
क्यानका सचिव पारस खड्काले लर्ड्स फर्किनु नेपाली क्रिकेटका लागि गर्व र सम्मानको विषय भएको बताएका छन् । एमसीसीसँगको सहकार्यले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय अवसर विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बंगलादेशजस्तो आईसीसी पूर्ण सदस्य राष्ट्रसँग लर्ड्समा खेल्न पाउनु ऐतिहासिक उपलब्धि हुने बताएका छन् ।
बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष तामिम इकबालले पनि लर्ड्समा नेपालसँग खेल्न पाउनु आफ्नो टोलीका लागि विशेष अवसर भएको बताएका छन् । सन् २०२७ को गर्मीयाम बंगलादेशी क्रिकेटका लागि स्मरणीय हुने उनको भनाइ छ ।
एमसीसी र क्यानबीच पछिल्ला वर्षमा क्रिकेट विकासका विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ । एमसीसी फाउन्डेसनले सन् २०१९ देखि नेपालमा क्रिकेटमार्फत सामाजिक रूपान्तरण र युवा सहभागिता बढाउने उद्देश्यले काम गरिरहेको छ ।
खेल तालिका (२०२७)
- जुन १ : नेपाल–स्कटल्यान्ड (५० ओभर), वर्म्स्ली
- जुन ३ : नेपाल–बंगलादेश (टी–२०), लर्ड्स
- जुन ६ : नेपाल–आयरल्यान्ड (५० ओभर), वर्म्स्ली
- जुन ९ : नेपाल–आयरल्यान्ड (टी–२०), वर्म्स्ली
- जुन ११ : नेपाल–आयरल्यान्ड (टी–२०), बेकनह्याम
- जुन १२ : नेपाल–आयरल्यान्ड (टी–२०), बेकनह्याम



