काठमाडौं,मंसिर १२ । नेपाली कांग्रेसले पार्टीको नाम, झण्डा, लेटरप्याड, छाप तथा चुनाव चिह्न ‘रुख’ अनधिकृत रूपमा प्रयोग गर्ने व्यक्ति तथा समूहविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिक पहिचान र प्रतीक दुरुपयोग गर्नेविरुद्ध कानुनी उपचार खोज्ने निर्णय भएको जानकारी दिएका हुन् ।
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिक नाम, लेटरप्याड, ब्यानर, झण्डा, छाप तथा चुनाव चिह्न ‘रुख’ अनधिकृत रूपमा प्रयोग गरिरहेको आरोप लगाउँदै पौडेलले यस्ता गतिविधिले पार्टीका सदस्य तथा शुभेच्छुकमा भ्रम सिर्जना गरेको बताए ।
उनले असोजमा सम्पन्न १५औँ नियमित महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको २३१ सदस्यीय केन्द्रीय कार्यसमिति नै पार्टीको वैधानिक कार्यसमिति रहेको दाबी गर्दै अन्य गतिविधिबाट भ्रमित नहुन आग्रह गरे ।
पौडेलले पार्टीको नाम र आधिकारिक प्रतीक प्रयोग गरेर भेला तथा महाधिवेशनका नाममा भइरहेका गतिविधि पार्टीको आधिकारिक कार्यक्रम नभएको स्पष्ट पारे ।
उनले भने, ‘केही व्यक्ति तथा समूहले नेपाली कांग्रेसको नाम, लेटरप्याड, ब्यानर, पार्टी झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा विभिन्न गतिविधि सञ्चालन गर्दै आएकोप्रति केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ ।’
पार्टीको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न, छाप तथा अन्य आधिकारिक प्रतीक अनधिकृत रूपमा प्रयोग नगर्न र त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक कार्यक्रमका रूपमा प्रचार नगर्न केन्द्रीय कार्यसमितिले सम्बन्धित सबैलाई आग्रह गरेको उनले बताए ।
उनले थपे, ‘यस आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढङ्गले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही एवं कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।’
पौडेलले निर्वाचन आयोगलगायत सम्बन्धित अधिकारप्राप्त निकायलाई पनि पार्टीको वैधानिक पहिचान संरक्षण गर्न र आधिकारिक प्रतीकको दुरुपयोग रोक्न आवश्यक कदम चाल्न आग्रह गरिएको जानकारी दिए ।
यसैबीच, कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ परिमार्जनसहित पारित गरेको छ ।
कांग्रेसका सार्वजनिक कार्यक्रम लामो हुने, धेरै व्यक्तिलाई आसन ग्रहण गराउने र वक्ताको संख्या अत्यधिक हुने प्रवृत्तिलाई व्यवस्थित गर्न कार्यविधि ल्याइएको पौडेलले बताए । नयाँ कार्यविधिले पार्टीका सार्वजनिक कार्यक्रमलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउने उनको भनाइ छ ।



