सुर्खेत,मंसिर १३ । बाल्यकालमा झुप्रा खोलामा बालुवा–गिट्टी कुटेर जीवनका कठिन दिन बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी आफ्नै जन्मभूमि पुगेर त्यहाँका समस्या समाधानका लागि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको ध्यानाकर्षण गराएकी छन्।
शनिबार साँझ मन्त्री बादी शिक्षामन्त्री पोखरेललाई साथमा लिएर आफ्नो बाल्यकाल बितेको झुप्रा खोला पुगेकी हुन्। उनले स्थानीय समुदायसँग भेटघाट गर्दै विद्युत्, खानेपानी, शिक्षा, रोजगारी, बस्ती व्यवस्थापन र आधारभूत पूर्वाधारका समस्याबारे शिक्षामन्त्रीलाई प्रत्यक्ष जानकारी गराइन्।
कुनै समय जीवन गुजार्न बालुवा–गिट्टी कुटेको बस्तीमा मन्त्रीका रूपमा फर्किएकी बादीले स्थानीयका समस्या र अपेक्षा सुनेकी थिइन्। उनले आफ्नो भ्रमण जन्मभूमि पुग्ने औपचारिक कार्यक्रम मात्र नभई आफूले भोगेको सङ्घर्ष र स्थानीयले अहिले पनि सामना गरिरहेका कठिनाइ राज्यका जिम्मेवार निकायसम्म पुर्याउने अवसर भएको बताइन्।
छलफलका क्रममा खोलाको किनारमा जोखिमपूर्ण अवस्थामा रहेको बस्तीका नागरिकले वर्षौंदेखि आधारभूत सेवाको अभाव र आर्थिक कठिनाइ भोग्दै आएको गुनासो गरेका थिए। पुस्तौँदेखि जीविकोपार्जनको आधार बनेको बालुवा–गिट्टी कुट्ने पेसा बन्द भएपछि धेरै परिवारको आम्दानीको स्रोत गुमेको र वैकल्पिक रोजगारी नहुँदा दैनिक गुजारा गर्नसमेत कठिन भएको स्थानीयले सुनाएका थिए।
भेटघाटमा बादी समुदायका बालबालिकाको शिक्षामा पहुँचको विषयले विशेष प्राथमिकता पाएको थियो। जन्मदर्ता नहुँदा १५ जना बालबालिका शिक्षाको अवसरबाट प्रभावित भइरहेको विषयमा मन्त्री बादीले शिक्षामन्त्री पोखरेलको ध्यानाकर्षण गराएकी थिइन्।
त्यसप्रति चासो व्यक्त गर्दै शिक्षामन्त्री पोखरेलले ती बालबालिकालाई शिक्षाको सहज पहुँचमा ल्याउन आवश्यक सहजीकरण र पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
त्यस्तै, स्थानीय महिलाको आर्थिक अवस्था सुधार र आत्मनिर्भरताका लागि सीप विकास तथा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने विषय पनि छलफलमा उठेको थियो। मन्त्री बादीले झुप्रा खोलाका महिलालाई लक्षित गरी छिट्टै सीपमूलक तालिम सञ्चालन गर्ने जानकारी दिइन्।
तालिमलाई व्यावहारिक सीप, स्वरोजगार र दिगो आयआर्जनसँग जोडेर महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उनको भनाइ थियो।
आफ्नो विगत र जन्मभूमिको अवस्थाबारे चर्चा गर्दै मन्त्री बादीले सत्ता र जिम्मेवारीको वास्तविक अर्थ जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्दा मात्र सार्थक हुने बताइन्। आफूले विगतमा भोगेको सङ्घर्षलाई सामाजिक परिवर्तनको शक्तिमा बदल्ने उनको प्रतिबद्धता थियो।
झुप्रा खोलाका प्रत्येक बालबालिकाले शिक्षा पाउने, महिलाले आत्मनिर्भर बन्ने अवसर प्राप्त गर्ने र हरेक परिवारले सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्।
स्थानीयका शिक्षा, रोजगारी, आधारभूत पूर्वाधार र जीविकोपार्जनसँग सम्बन्धित समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र आवश्यक पहल गर्ने मन्त्री बादीले बताइन्।



