शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

प्रदीप दाइ र म

प्रदीप दाइ र म

साझा पोष्ट
शनिबार, भदौ ४ २०७९
  • images
    प्रदीप दाइ र म
    images
    आज म प्रदीप दाइको बारेमा यस्तो कुरा लेख्न गईरहेको छु जुन नियतिले निर्धारित गरेको हो । वहाँलाई माया गर्ने धेरै छन । वहाँको सबैको प्रेमभावप्रति मेरो असीम आदर छ । तर आज मैले यो लेखिनँ भने शायद कहिले पनि लेख्न सक्दिनँ होला । उहाँको कान्छो भाइ लक्ष्मण गिरी र प्रदीप दाई बीच अचम्मको प्रेम थियो । त्यहाँ भक्ति पनि थियो र सखाको प्रेम पनि थियो । हामी तीनै जनासँगै भएको बेला म यो भन्दै जिस्क्याउँथे पनि कि इंजिनियर साहेब आपके भाई से भी ज्यादा आपके कार्यकर्ता जैसे हैं । दुई जनाबीचको असीम प्रेमको एक कडी म पनि थिएँ । प्रदीप दाईसँग मेरो भेट पटनामा भएको थियो । भर्खर क्लास ११ को जाँच दिएको थिएँ । मेरो काकी नेपालको हुनुहुन्थ्यो र निर्वासनको समयमा उहाँहरु पटना गई राख्नुहुन्थ्यो । त्यस्तै एउटा भ्रमणको दौरानमा पटनामा तीन चार जना नेपाली मेरो काकीको कोठामा बस्नु भएको थियो । म बाहिर थिएँ र मलाई बोलाइयो । म कोठामा पसी एक कुनामा बसी हालें । उहाँले एकपछि अर्को प्रश्न गर्न थाल्नुभयो, हिंदीमा । मैले सकेसम्म एउटा राम्रो विद्यार्थी जस्तो जवाफ दिंदै गएँ। त्यसपछि केहीबेर चुप लाग्नुभयो र एक्कासी हाँस्दै भन्नुभयो–मेरी अभी शादी नहीं हुई है, चलो तुम मेरे साथ भाग चलो । कस्तो–कस्तो लाग्यो । म त्यसबेला मात्र १६ वर्षको थिएँ । यो मजाक हो कि केहो जस्तो पनि लाग्यो । चुपचाप कोठाबाट बाहिर निस्कें । यो घटनाको लगभग २ वर्षपछि मेरो लक्ष्मण गिरीसँग मागी विवाह भयो । विवाह गरी बस्तीपुर आएपछि परिवारका सदस्यबारे बुझ्दा बिस्तारै थाहा भयो, प्रदीप गिरी भन्ने व्यक्ति लक्ष्मण गिरीका दाजु हुन् । पछि मैले थाहा पाएँ प्रदीप गिरी त्यही व्यक्ति हुन् जसलाई मैले पटनामा भेटेको थिएँ । उहाँ विवाहमा सरिक हुनुभएको थिएन । पछि भन्नुभयो– जब पता चला कि मेरे ही भाई से तुम्हारी शादी हो रही है तो कुछ अजीब सा लगा और मैं शादी में नहीं आया ।’ प्रदीप दाई सँगको थोड बहुत संगतमा उहाँको विद्वतासँग प्रभावित नहुने त कुरा नै थिएन । जेठाजु र बुहारीको सम्बन्ध यस्तो हुन्छ कि मैले उहाँसँग सिक्ने अवसर वा समय पाईन । तर टाढा भएपनि राजनीतिमा उहाँ मेरो प्रेरणास्रोत जहिले पनि रहनुभयो । उहाँको प्रभावमा मैले आध्यात्मिकतालाई पनि बुझें । प्रेमको आध्यात्मिक स्वरुप के हुन्छ, मैले उहाँको संगतमा बुझें । जीवनमा जस्तो सुकै कठोर मोडमा उहाँको र भाई लक्ष्मण गिरीको प्रेम र संरक्षण पाउने भाग्यमानी मध्येको एक म पनि हुँ । मेरो जीवनमा पिता बाहेक प्रभाव राख्ने दुई पुरुष लक्ष्मण गिरी र प्रदीप गिरी हुन् । आज तीनै जना यस संसारमा हुनुहुन्न । तीनै जनाप्रति असीम श्रद्धा र प्रेम व्यक्त गर्दछु । -सरिता गिरी दिवंगत प्रदीप गिरीकी भाइबुहारी हुन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार