बुधबार, वैशाख २६ गते २०८१
Logo
बुधबार, वैशाख २६ गते २०८१

मिटरब्याजीविरुद्ध दुई हजारभन्दा धेरै उजुरी, सबैभन्दा बढि मधेस प्रदेशमा, साहुकारका चारैभाई फरार

मिटरब्याजीविरुद्ध दुई हजारभन्दा धेरै उजुरी, सबैभन्दा बढि मधेस प्रदेशमा, साहुकारका चारैभाई फरार

साझा पोष्ट
आइतबार, भदौ ५ २०७९
  • images
    मिटरब्याजीविरुद्ध दुई हजारभन्दा धेरै उजुरी, सबैभन्दा बढि मधेस प्रदेशमा, साहुकारका चारैभाई फरार
    images
    काठमाण्डौं । मिटरब्याजमा ऋण लगाएर उठीबास लगाउने साहुकारहरूविरुद्ध दुई हजारभन्दा धेरै उजुरी परेका छन् । मिटरब्याजबाट पीडितहरूको समस्या सम्बोधन गर्न सरकारले गठन गरेको कार्यदलले हिजोसम्म उजुरी दिन आह्वान गरेको थियो। कार्यदलको आह्वानअनुसार देशभरबाट २ हजार ४३ जनाले उजुरी दिएका कार्यदलका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव डाक्टर भीष्मकुमार भुसालले जानकारी दिए । उनका अनुसार मधेस प्रदेशबाट सबैभन्दा धेरै एक हजार १८२ उजुरी परेको छ । वाग्मती प्रदेशबाट ३ सय ५६ र लुम्बिनी प्रदेशबाट २ सय ११ वटा उजुरी परेको छ । अरु प्रदेशबाट पनि उजुरी परेको र सङ्कलनको काम भइरहेको भुसालले जानकारी दिए । पीडितले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिएका हुन् । उजुरीको अध्ययन गर्ने काम भइरहेको र भोलिदेखि स्थलगत अध्ययन सुरु हुने कार्यदलले जनाएको छ । स्थलगत अध्ययनको क्रममा अझै उजुरी आउने सम्भावना देखिएमा म्याद थपिने छ । आज बस्ने कार्यदलको बैठकले यसबारे निर्णय लिने कार्यदलका सदस्य तथा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका एसएसपी दिनेश आचार्यले बताए । यसैबीच नवलपरासीका सर्वसाधारणलाई मिटरब्याजमा ऋण लगाएर सबैभन्दा धेरै प्रतापपुर गाउँपालिका– ९ का खुँखार साहुकार ५५ वर्षीय जगदीश कानु बानियाँले दुःख दिएका छन् । उनका तीन भाइ सुनील, सुजित र सुरेशले पनि मिटरब्याजकै धन्दा चलाइरहेका थिए । सरकारले पीडितहरूलाई उजुरी दिन आह्वान गरेपछि चारै भाइ सपरिवार भारत भागिसकेको स्थानीयले बताएका छन् । उनीहरूले बैंकमा रहेको सबै रकम पनि झिकेर लगिसकेको पीडितहरूको भनाइ छ । उनीहरूको घरमा अहिले ताला लगाइएको छ । फरार रहँदै आएका महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह भने पक्राउ परेका छन् । पीडितहरूको उजुरीपछि उनी फरार थिए । प्रहरीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ । सरकारले गएको साउन २७ गते मिटरब्याजबाट पीडितको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन गरेको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार