Sajha Post
तिमी के भन्छौ मिनेन्द्र ? 
nepatop

साँच्चै भन्ने हो भने, अहिले कांग्रेस, माओवादी र कम्युनिष्टका नेताहरु राजनीतिमा आफूले गरेको लगानी उठाउँदैछन । हामी यस्तो गणतन्त्रमा छौं जहाँका नेता भनाउँदाहरुले गणतन्त्रको महत्व नै बुझेका छैनन । उनीहरु कुलीन वर्गको कमाराको हैसियतमा छन । 

मेरा अत्यन्त प्रिय र आत्मीय मित्र हुन मीनेन्द्र रिजाल । प्रजातन्त्र प्राप्तिका लागि भएका आन्दोलनहरुमा हामीले संगै काम गरेका हौं । त्यो आन्दोलनलाई मध्यवर्ती भागतिरै छाडेर विद्यार्थी नेता मीनेन्द्र रिजाल र अर्का विद्यार्थी नेता प्रकाशशरण महत अमेरिकातिर लागे शिक्षा आर्जनका लागि । नेपाली राजनीतिका सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको जन–आन्दोलनले देशमा संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पुनस्थापना गर्यो । त्यसको केही समयपछि उनीहरु नेपाल फर्किए: डा. मीनेन्द्र रिजाल र डा. प्रकाशशरण महतका रुपमा । यी दुवै नेता शेरबहादुर देउवाका निकट मानिन्थे त्यतिखेर । 
राजनीतिमा मीनेन्द्र प्रखर थिए । पूर्वी नेपालको कुलीन रिजाल परिवारका सदस्य मीनेन्द्र र नुवाकोट जिल्लाका सम्पन्न महत परिवारका प्रकाशलाई कांग्रेसको राजनीतिमा ‘एडजष्ट’ हुन त्यति कठिन भएन । रहँदा बस्दा प्रकाश शरण आफना दाजु रामशरण महतको राजनीतिबाट टाढिए भने मीनेन्द्र शेरबहादुर देउवाको समूहबाट अलग्गिए । मीनेन्द्र र प्रकाश, दुवैको राजनीति अप्ठेरोमा फलेको फर्सी जस्तो थियो । मीनेन्द्रको कर्मक्षेत्र मोरङमा आचार्य र कोइरालाका रुपमा चुनौतिका चाङ  थिए भने प्रकाशका लागि आफनै दाजु रामशरण महत र निर्दलीय पंचायत र बहुदलीय प्रजातन्त्रकालमा समेत ‘अपरिहार्य’ बनेका अर्जुननरसिंह केसी र उनका भाइहरुको सामनागर्नु सजिलो थिएन । 
यो पटक मीनेन्द्रले संसदीय टिकट पाएनन । प्रकाशले समानुपातिकमा सुरक्षा खोजे । उनले नुवाकोटको राजनीतिमा अर्जुननरसिंहको अपरिहार्यतालाई स्वीकार गरे । मीनेन्द्रको टिकट सुजाताले खोसिन । उनको एकमात्र योग्यता स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाकी छोरी हुनु हो । 
संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको समयमा होस वा त्यसपछि – डा. मीनेन्द्र र डा. प्रकाश दुवैको राजनीतिक खूबी देखिएन । समयको एक सीमासम्म डा. मीनेन्द्र रिजाल शेरबहादुर देउवासँग थिए । त्यसपछि, उनी सुशील कोइरालाको पछि लागे । डा. प्रकाशशरण महतले शेरबहादुर देउवाको साथ अहिलेसम्म छाडेका छैनन । 
यी दुवै नेतामा अनन्त राजनीतिक सम्भावना थिए । अमेरिकामा पढेका र पढाएका । देशमा राजनीति गरुन्जेल दुवै जुझारु थिए । अझ मीनेन्द्र त बीपी कोइरालाका पनि प्रिय थिए । यी दुबै नेतामा सम्भावना पूर्ण भएर पनि साहसको अभाव थियो । दुवैले न त पार्टी, सरकार र ब्यवस्थामा सुधारका लागि दवाव सिर्जना गर्न सके न त राजनीतिक सुविधा लत्याउने आँट नै गरे । अन्ततः उनीहरुको आँखा अगाडि माओवादी आन्दोलन चर्कियो । यसको सामना र समाधानगर्ने साहस मीनेन्द्र र प्रकाशले मात्रै होइन, अरु युवा नेताले पनि देखाउन सकेनन । 
देशको अवस्था अहिले पनि उस्तै छ । फरक यति हो कि अहिले राजतन्त्र छैन । सेना, पुलिस, साहू, महाजन, कर्मचारी र कुलीनतन्त्रको हैकम र दबदबा उस्तै छ । हामी यस्तो गणतन्त्रमा छौं जहाँका नेता भनाउँदाहरुले गणतन्त्रको महत्व नै बुझेका छैनन । उनीहरु कुलीन वर्गको कमाराको हैसियतमा छन । 
साँच्चै भन्ने हो भने, अहिले कांग्रेस, माओवादी र कम्युनिष्टका नेताहरु राजनीतिमा आफूले गरेको लगानी उठाउँदैछन । एकथरि कम्युनिष्टले त पन्चायतकालदेखि नै राजतन्त्रबाट प्राप्त सुविधाको उपभोग गरेका हुन । समाजवादी चिन्तक प्रदीप गिरि भन्ने गर्नु हुन्थ्यो, ‘अहिलेको समय लिंगोदर सभ्यताको समय हो । मानिस आफनो लिंग र उदरको चिन्तामा डुबेको छ ।’
जे होस, मीनेन्द्रले टिकट पाएनन् । ब्यक्तिगत हिसावले मलाइ यसमा दुःख लागेको छ । मन पनि खिन्न छ । उनले टिकट पाएको भएपनि गर्न त केही सक्दैनथे । कहिलेकाहीं संसदको रोष्ट्रममा उभिएर दुइचार कुरा सुनाउँथे । त्यति हो । 
दुःखको कुरा हाम्रो पुस्ताले लोकतन्त्र पूनर्स्थापनाको त्यति लामो लडाइँ लड्यो । यो लडाइँमा सयौं साथी शहीद भए । तर, देशमा चाहिएको जस्तो गुणात्मक परिवर्तन भएन । यो नै दुःखद कुरा हो ।
तिमी के भन्छौ मीनेन्द्र ?

-किशोर नेपाल वरिष्ठ पत्रकार हुन । 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  २२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update