
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गडबड गरेर एकीकृत समाजवादीलाई राष्टिय पार्टी बनाउन खोजिएको आशंका गरेका छन । फेसबुक मार्फत प्रतिक्रिया दिँदै ओलीले माधव नेपाल नेतृत्वको पार्टीको नामै नलिई उसलाई राष्टिय पार्टी बनाउन 'एउटा पार्टीलाई आएको केही मत केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुन' सक्ने आशंका गरेका हुन । यसमा चनाखो हुन मतगणनामा बसेका आफ्ना कार्यकर्तालाई ओलीले अपील गरेका छन ।
'समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ।' ओलीले फेसबुकमा लेखेका छन-जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् ।'
ओलीले चुनाव अघि एकीकृत समाजवादी राष्टिय पार्टी नबन्ने र समाप्त हुने घोषणा गरेका थिए । एकीकृत समाजवादीले प्रत्यक्ष तर्फ १० सिट देखिएपनि समानुपातिकमा थ्रेस होल्ड कटाउँछ कटाउँदैन भन्न नसकिने स्थिति छ ।
समाजवादीले २ लाख भोट पुर्याउन लाग्दा ओलीको आशंका बाहिर आएको हो । उनले मतपरिणामको मुचुल्काको प्रति पनि पठाउन कार्यकर्तालाई भनेका छन ।
'मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु।' ओलीले लेखेका छन