
काठमाडौं । विश्वकप फुटबलमा आज राति समूह सी र डी का चार खेल हुँदैछन्। अन्तिम चरणका खेलमा समूह सी का पोल्याण्ड र अर्जेन्टिना तथा साउदी अरेविया र मेक्सिको भिड्दैछन्।
४ अंकसहित पोल्याण्ड तालिकाको शीर्षस्थानमा छ भने ३ अंक भएको अर्जेन्टिना दोस्रो स्थानमा छ। तेस्रो स्थानको साउदीको पनि समान ३ अंक छ। तर गोल अन्तरका आधारमा ऊ पछि छ। १ अंक भएको मेक्सिकोको पनि अघिल्लो चरणको सम्भावना बाँकी छ।
राति १२ः४५ बजे पोल्याण्डविरुद्ध उत्रँदा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब छ। यो खेल जितेको अवस्थामा अर्जेन्टिनाको समूह विजेता बन्दै नकआउटमा पुग्ने छ । तर पोल्याण्ड भने बराबरीले पनि अघिल्लो चरणमा पुग्छ।
अन्तिम खेल बराबरी गर्दा पोल्याण्डको ५ अंक हुन्छ। यस्तो अवस्थामा अर्को खेलमा साउदी विजयी भएमा पोल्याण्ड उपविजेताको रुपमा नकआउटमा पुग्नेछ। साउदीले मेक्सिकोलाई हराएमा उसको ६ अंक हुनेछ।
पहिलो खेलमा अर्जेन्टिना साउदीसँग पराजित भएको थियो। पोल्याण्डले मेक्सिकोसँग बराबरी खेलेको थियो। दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गर्दा पोल्याण्डले साउदीलाई हराएपछि दुवै टोली बलियो अवस्थामा पुगेका हुन्।
तर अन्तिम खेलमा यी दुईको भिडन्तले भने बाँकी दुईको पनि अघिल्लो चरणको सम्भाबना बलियो बनेको हो। गोल अन्तरमा पोल्याण्ड अगाडी छ। पोल्याण्डले २ गोल बढी गरेको छ। अर्जेन्टिनाको एक गोल बढि छ।
अर्जेन्टिना स्टार फरवार्ड लियोनल मेस्सीको कप्तानीमा मैदान प्रवेश गर्दा पोल्याण्ड लेवान्डोस्कीको कप्तानीमा हुनेछ। दुई पटकको विश्वविजेता अर्जेन्टिना तीन पटक फाइनलमा पुगेर पराजित भएको थियो। विश्वकपमाअर्जेन्टिनाको यो १८ औं सहभागीता हो।