
काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएको बताएका छन ।
बुद्धिजीवी र जनस्तरबाट डा. रुइत राष्ट्रपतिका लागि उपयुक्त पात्र भएको चर्चा चलिरहेका बेला उनले देशको राष्ट्रपति पदमा जान अनिच्छा व्यक्त गरेका हुन। बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति पद आफ्नो लागि नभएको प्रष्ट पारे ।
‘यो मेरो लागि होइन । मैले आफ्नो सीमा र स्थान राम्रोसँग बुझेको छु । यही कारण म अगाडि आएको हो ।’ उनले भने, मैले सक्ने जति गर्ने हो, सक्ने भन्दा अरु काम गर्दिनँ ।’
अहिलेलाई यो काम (राष्ट्रपति) भन्दा आफूले गर्न सक्ने काम धेरै रहेको डा. रुइतले बताए । रुइतले राष्ट्रपतिको विश्वसनियता लोकतन्त्रमा महत्वपूर्ण भन्दै त्यसको विश्वसनीयता बढाउनुपर्नेमा जोड दिए ।
नेपालमा राष्ट्रपति पद आलंकारिक भए पनि त्यसको मानसम्मान राख्नुपर्ने उनले बताए । 'लोकतन्त्रमा राष्ट्रपतिको विश्वसनियता असाध्यै बढी छ, रबरस्ट्याम्प भए पनि । भारतको राष्ट्रपतिलाई हेर्नुहोस् कस्तो सम्मान छ । हामी सबै मिलेर राष्ट्रपतिको त्यो विश्वसनियता र सम्मान कामय गर्नुपर्छ । त्यसमा कमी छ,' उनले भने ।
आफूले पाएको अवार्ड ठूलो र सम्मानित भएको बताउँदै डा. रुइतले राज्यले पनि त्यसको महत्व बुझ्नुपर्ने बताए । उनले जनता खुसी भएको अवस्थामा राज्यले पनि सोही अनुसारको दायित्व पूरा गर्नुपर्नेमा जोड दिए ।