
दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् । आज प्रदेश राजधानी दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिपरिषदमा समावेश गरेर शनिबार सरकारलाई पूर्णता दिएका हुन् । यसअघि उनले गत पुस २८ गते दुई जना बिनाविभागीयमन्त्री नियुक्तिसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार मौजुदा मन्त्रिपरिषद्मा मन्त्रीहरूको नियुक्ति र कार्यविभाजन गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले शनिबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मुख्यमन्त्री गिरीले गत पुस २८ गते बिनाविभागीयमन्त्री बनेका दुईसहित नौ सदस्यीय मन्त्रिपरिषद विस्तार गरी कार्यविभाजन गरेका छन् । विस्तारित मन्त्रिपरिषद्मा सरकारको नेतृत्व गरेको नेकपा एमालेबाट चार, नेकपा माओवादी केन्द्रबाट तीन तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका छन् ।
मुख्यमन्त्रीको सिफारिसमा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, इन्द्रजित थारू भैतिक पूर्वाधार विकास, र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री भएका छ् ।
एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकास, विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थार र दुर्गाप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रबाट मन्त्री नियुक्त केसीले यसअघि बिनाविभागीय मन्त्रीको रूपमा रहँदै शनिबार नै पदबाट राजीनामा दिएकी थिएन् । उनको राजीनामा स्वीकृत नगरी मन्त्रालयको जिम्मेवारी दिइएको हो ।