Sajha Post
घृणा र उत्तेजनाको कारोबार गर्ने राजनीतिमा स्वर्णिम वाग्ले 

जगेडा नायकहरुको भ्रम छिटोभन्दा छिटो गर्ल्यामगुर्लुम भएर ढलेपछि समाज सामुहिक योग्यताको जुगाडमा लाग्थ्यो कि ! धेरै ढिलो भइसक्यो समाजको गति।

स्वर्णिम कांग्रेसमा थिए, बडो हाइहाइ गरियो उनको।स्वर्णिमले कांग्रेस छोडे, बडो घृणा बौछार भइरहेछ उनी उपर।नेपाली कांग्रेस सात दशकभन्दा लामो समयदेखि नेपाली समाजको नेतृत्वमा छ। कहिले सत्ताको, कहिले आन्दोलनको।कांग्रेसको तमाम योग्यता, नीति र नेतृत्वमा उभिएको जम्माजम्मी समाज हामी व्यहोरिरहेकै छौं।

हिजोदेखि एसइइ दिइरहेको हरेक किशोरकिशोरी यो देश छोड्ने र पहिलो विश्वमा पुग्ने कहालीलाग्दो अपेक्षामा धार लगाउन उत्तरपुस्तिकामा भिषा जित्ने चित्र कोरिरहेछन्। विदेश नगएरर यहीं उभिएको नागरिकलाई आत्मग्लानी हुने अवस्था छ।सिँगो कांग्रेसले, उसको तमाम नेतृत्वको एकीकृत योग्यताले बनेको देश जम्माजम्मी यही हो।सात दशकभन्दा बढी समयदेखि अनवरत समाजको नेतृत्व गरेको कांग्रेसको जम्माजम्मी योग्यतामा बनेको देश।
त्यस्तो कांग्रेसमा बस्दा कसैको वाहवाही हुने र छोड्दा निन्दा हुने। हाम्रो समाज आजको अवस्थामा किन बिघटित छ भन्ने यो एउटा सङ्लो तस्वीर हो। नेपाली समाज जम्माजम्मी यसैका लागि लायक छ।

स्वर्णिमप्रति उनको पुँजीवादी आर्थिक अध्ययनको फराकिलो दायराबाट आकर्षित भएर उनी अघि बढुन् भनेर सार्वजनिक सद्भाव प्रकट गर्ने गरेको छु, पुँजीवादी आर्थिक उत्पादन प्रणालीको म सैद्धान्तिक आलोचक रहेर पनि।उनले समाजको कायापलट गरिदेलान् भनेर होइन, पुँजीवादले आफुसँग चमत्कार गर्नसक्ने जगेडा हिरो बाँकी रहेको भ्रम समाजमा बेच्न नपाओस् भनेर। मैले त स्वर्णिमलाई काँधमा चढाएर भएपनि गोरखा लगेर चुनाव लडाउनुपर्छसम्म पनि भनेको हुँ।जगेडा नायकहरुको भ्रम छिटोभन्दा छिटो गर्ल्यामगुर्लुम भएर ढलेपछि समाज सामुहिक योग्यताको जुगाडमा लाग्थ्यो कि ! धेरै ढिलो भइसक्यो समाजको गति।

कहिल्यै जमिन नचिनेको, जमिनमाथि उभ्याइएको संरचनामा बसेर मोडिफाइड र म्यानिपुलेटेड दाना खाएर हर्लक्क बढेको बोइलरको आयु एकदमै छोटो हुन्छ। तिनको उडानको सीमा हुन्छ। तौल एउटा कुरा हो, त्यसको पौष्टिकता निकै कम हुन्छ।यति त जहिल्यै जानिरहेकै कुरा हो।स्वर्णिम रास्वपामा गए।त्यो कमसेकम कांग्रेस जसरी टेस्टेड एण्ड फेल प्रमाणित भइसकेको संरचना होइन। त्यसो भए त्यसले गर्छ त केही ? गर्दैन। 

machhapuchhre bank


समाजलाई उत्तेजनाको लप्कोमा होमेर राजनीतिको गुजारा चलाउन आएकाहरुले समाज रुपान्तरण गर्दैनन्।समाज रुपान्तरण गर्न स्पष्ट कार्यदिशा, विचार, कार्यक्रम आवश्यक हुन्छ।रास्वपाको नेपाली समाज रुपान्तरणको लागि आवश्यक विचार, कार्यक्रम र कार्यदिशा के हो त भन्दा असन्तोष, घृणा र उत्तेजनाको एकीकृत कारोबार। यसले समाजलाई कहाँ लग्छ ? 
उत्तर दिन हतार नगर्नुस्। बाँचिबसियो भने यस उपर दश वर्षपछि तपाइँ आफैंसँग व्यवहारिक उत्तर हुनेछ।

-देवकोटा राजनीतिक विश्लेषक हुन् । 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update