शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

कर्नाटकामा कांग्रेसको जीत र भाजपा पराजयको अर्थ 

कर्नाटकामा कांग्रेसको जीत र भाजपा पराजयको अर्थ 

साझा पोष्ट
आइतबार, वैशाख ३१ २०८०
  • images
    कर्नाटकामा कांग्रेसको जीत र भाजपा पराजयको अर्थ 
    images

    कर्नाटका निर्वाचन परिणामबारे चर्चा गर्नु अघि म यो प्रष्ट पार्न चाहन्छु कि म कर्नाटकाको बासिन्दा र मतदाता हुँ । यो विश्लेषण म एक लेखक तथा इतिहासकारका रुपमा मात्र गरिरहेको छैन ।  
    यो जीत कांग्रेसका लागि धेरै महत्वपूर्ण हो । कर्नाटकाका लागि मात्र होईन, कर्नाटकाबाहिर सिंगो देशका लागि  । यस वर्ष चुनाव भएका राज्यमध्ये हिमाञ्चलमा पनि कांग्रेसले जितेको थियो । कर्नाटकाको जीतले कांग्रेस पार्टी र कार्यकर्तालाई देशैभरि उर्जा, उत्साह र साहस दिनेछ । 
    यो जीतका लागि कसलाई जस दिने भन्ने कुरा होला । धेरैले भन्लान राहुल गान्धीको ‘भारत जोडो यात्रा’ को कमाल हो । वा प्रदेशका कांग्रेसका नेताहरु अध्यक्ष डिके शिवकुमार वा पूर्वमुख्यमन्त्री सिद्दारमैयालाई भनिएला । 
    तर महत्वपूर्ण कुरा हिमाञ्चलमा कांग्रेसले जित्दै गर्दा राहुल गान्धी चुनाव प्रसारमा समेत थिएनन् । राहुलको ‘भारत जोडो यात्रा’ ले कर्नाटकाको १० प्रतिशत निर्वाचन क्षेत्र पनि छोएको थिएन । तसर्थ यो निर्वाचन परिणामलाई नियाल्दा यसको कारण भाजपा सरकारप्रतिको ‘एन्टि–एन्कम्बेन्सी’, खाद्यबस्तुको मूल्वृद्धि, अक्षमता र भ्रष्टाचार मुख्य कारण हुन् । 
    कांग्रेसको सामुहिक नेतृत्वले पनि यो परिणाम आउनमा काम गरेको छ । मुख्यतः कांग्रेसको स्थानीय नेतृत्वले भाजपा सरकारको अक्षमता र कमजोरी समयमै राम्रो गरी बुझ्यो र त्यसलाई पक्रेर प्रभावकारी अभियान संचालन गर्यो । 
    स्थानीय कांग्रेस नेतृत्व भन्नाले यहाँ डिके शिवकुमार र सिद्दारमैयाको कुरा मात्र हैन, कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गे पनि यही प्रदेशका हुन । एमके पाटिलको पनि यो अभियानमा राम्रो भूमिका छ । मान्छेका नामतिर धेरै नजाउँ । 
    भाजपाका लागि भने यो लज्जास्पद हार हो । यो कर्नाटका प्रदेश पार्टीको मात्र हैन, सिंगो पार्टीको हार हो । यो प्रधानमन्त्री मोदीको पनि हार हो । अझ बढी अमित शाहको हार हो । किनकी शाह यो निर्वाचनका क्रममा पार्टीका तर्फबाट सबै सुक्ष्म व्यवस्थापनमा संलग्न थिए ।
    यो हारसंगै सिंगो दक्षिण भारत भाजपामुक्त भएको छ । अब तमिलनाडु, केरला, कर्नाटका, तेलङ्गाना, आन्ध्र प्रदेश कहीँँ पनि भाजपाको सरकार र दबदबा रहेन । देशको त्यो ठूलो भाग जो सामाजिक रुपमा बढी प्रगतिशील छ, आर्थिक रुपमा गतिशील छ, सबैभन्दा कम साम्प्रदायिकता छ, जहाँ सबैभन्दा बढी विज्ञान र प्रविधिको प्रवर्तन छ, उद्यमशीलता छ, त्यो क्षेत्रबाट भाजपा पूरै बाहिर निकालिएको छ ।
    यो पराजयको नैतिक तथा राजनीतिक उत्तरदायित्व व्यक्तिगत तथा संगठनात्मक दुवैै दृष्टिकोणले प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहमा रहन्छ । 
    कर्नाटका निर्वाचन अभियानका क्रममा केही ध्यान दिनु पर्ने कुरा थिए । जस्तो कि प्रधानमन्त्री नरेन्द्र मोदीले थुप्रै सभा र ‘रोड शो’ गरे । तर, गान्धी परिवार त्यहाँ अनुपस्थितजस्तो थियो । मोदी–शाहको प्रतिस्पर्धामा डिके शिवकुमार र सिद्दारमैया देखिएका थिए । कर्नाटकाले मोदीको व्यक्तित्व, चरित्र र चमत्कारलाई पत्याएन ।
    अर्थात् यो हार भाजपाका लागि केन्द्रीय नेतृत्वको हार हो भने कांगे्रसका लागि स्थानीय नेतृत्वको जित हो । पार्टीको जित हो । यो चुनाव कांग्रेसले हारेकै भए पनि राहुल गान्धीको व्यक्तित्वलाई खासै फरक पर्ने थिएन । तर, भाजपाको हारले मोदीलाई धेरै ठूलो नोक्सानी भयो । कर्नाटकामा कांग्रेसले निक्कै बलियो  स्थानीय नेतृत्व जन्माएको छ ।  
    कर्नाटका राजनीतिको तेस्रो पक्ष भनेको जनता दल ( सेक्युलर ) हो । यसका नेता एचडी देवेगौडा देशको प्रधानमन्त्री पनि भए । उनका अझै थुप्रै अनुुयायीहरु छन । तर, त्यो पार्टी एउटा पारिवारिक पार्टीजस्तो हुँदै गयो । बिल्कुलै अवसरवादी पार्टी हुँदै गयो । यो दल अब धेरै सुस्त र असान्र्दभिक हुँदै गएको छ । 
    यसपटक कर्नाटका निर्वाचनमा ध्रुबीकरण र साम्प्रदायिकताको राजनीतिले काम गरेन । अमित शाहले त्यस्तो प्रयत्न बारम्बार गरे । विगत दुई बर्ष यता उनले कहिले हलाल, कहिले हिजाब, कहिले अजान, कहिले टिपु सुल्तानको कुरा गरिरहे । ‘देवेगौडा कि नङेगौडा’ जस्ता कुरा गरे । 
    साम्प्रदायिताको अन्तिम हतियार ‘बजरंगबली’ थियो । भाजपाका लागि उत्तरी भारत विशेषतः उत्तरप्रदेश र गुजरातमा साम्प्रदायिक घृणाजन्य विषालु अभिव्यक्तिले जसरी परिणाम दिन्छ, यहाँ त्यो काम लागेन । कर्नाटका यस्ता कुराका लागि तयार थिएन । यो ठूलो राहत हो कि– अमित शाहको ‘जय बजरंगबली’ को नाराले काम गरेन । 
    यो सत्य हो कि कर्नाटकामा दक्षिण भारतका केरल र तमिलनाडुको तुलनामा हिन्दूत्वको राजनीतिले बढी काम गर्दछ । तर, खुशीको कुरा हो कि यसपटक गरेन । धार्मिक सहिष्णुता र सामाजिक सामञ्जस्यता भारतको आर्थिक विकासका लागि अति महत्वपूर्ण हो । 
    कर्नाटकाको स्थिति गुजरात र उत्तरप्रदेशको जस्तो पनि होईन । कर्नाटकाका जनतामा यस अघिका कांग्रेस सरकारको स्मरण ताजै छ । ती सरकारहरु अहिलेको भाजपा सरकारभन्दा ‘डेलिभरि’को सवालमा बढी प्रभावकारी थिए । 
    कर्नाटाकाको सबैभन्दा ठूलो शक्ति भनेको स्थानीय सशक्तिकरण हो । हिजो भाजपासंग स्थानीय नेता बीएस यदुयुरप्पा थिए । उनी भ्रष्ट, अक्षम, नातावादी थिए होला तर सम्प्रदायिक चाहिँ थिएनन्  । भाजपामा कोही साम्प्रदायिक थिएन भने उनी यदुयुरप्पा नै थिए । तर, भाजपाको पछिल्लो नेतृत्वमा स्थानीयता कमजोर हुँदै थियो र त्यो बढी साम्प्रदायिक पनि हुँदै गयो ।
    यो चुनावमा भाजापाले यदुयुरप्पालाई कम आँकेको, अवरोध  र अपमान गरेको मूल्य चुकाएको पनि हो । विएस यदुयुरप्पालाई अन्य समुदाय यहाँसम्म कि मुस्लिमले समेत विश्वास गथ्र्यो । कर्नाटकाको मुस्लिम समुदाय उदार खालको छ र त्यसको  भोट कांग्रेसतिर गयो ।
    कर्नाटकाको निर्वाचन परिणामले कांग्रेसलाई राहुल गान्धीको ‘भारत जोडो यात्रा’ ले भन्दा बढी उर्जा दिन र पुनरुत्थान गर्न सक्दछ । 


    images
    images

    (गुहा भारतका प्रसिद्ध लेखक तथा इतिहासकार हुन । यो आलेख उनको 'द वायर'मा करण थापरसँगको अन्तर्वार्तामा आधारित छ ।  )   
                

      
         
     
      
                
      

     
        

          
      
              
        
         

         
     

           

      
      
      
     
     
     

       
     
     
     


      
       


     

      
           
       
     

     

     

      
     
      
     
     
     
      
     
       

     
     
       
     

     

     


     
      
         
     
       
     
     
     


     
     

     
        
      
        
     
      

      
        
     
         

       
       
     
         
       
      
      

     
       
       


        


       

         
     
              

     
        

      

     
         


     

        

     
      

        


     


     
     
      
     
     

     
            
                     

      
     
      
     
     

     

     

     
      


          


     


         


          


      


     
     
       

       
     

      
         

     
       
      
     
     
       


       

     
       


       
         
      
     
          


        
     

     

     
     

      

     
         

      
     

     
      

      
        

      
        

     


     

     

      

     


     

     


        
     

     
     

     
     

     


       
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार