
काठमाडौं । चर्च ब्वाइज युनाईटेड सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सातदोबाटो युथ क्लब लाई १–० गोल अन्तरले हराएर चर्च ब्वाइज शीर्ष स्थानमा उक्लिएको हो ।चर्च ब्वाइजको जितमा सुभास गुरुङले निर्णायक गोल गरे ।सुभासले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए ।जितसँगै चर्च ब्वाइजले १८ खेलमा ३३ अंक जोडेको छ ।चर्च ब्वाइज दोस्रो स्थानको जावलाखेल युथ भन्दा २ अंकले अघि छ ।सातदोबाटो १८ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा छ ।
अर्को खेलमा नेपाल पुलिसले एपिएफ क्लबमाथि १–० को रोमाञ्चक जित निकालेको छ।विभागीय डर्बी भिडन्तमा पुलिस विजयी भयो । पुलिसले टोम मोसेसको निर्णायक गोलको सहयोगमा जारी लिगमा छैठौं जित निकालेको छ।
जितसँगै पुलिस लिग तालिकाको दशौं स्थानमा उक्लिएको छ। पुलिसले स्पष्ट जित निकाल्ने क्रममा मोसेसले ६१ औं मिनेटमा गरेको गोल निर्णायक भएको हो। जितपछि पुलिसले १८ खेलबाट २२ अंक बनाएको छ। पराजित एपिएफ ११ औं स्थानमा झरेको छ। एपिएफको पनि समान २२ अंक छ।
यस्तै दिनेश हेन्जनले निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा बराबरी गोल फर्काएपछि त्रिभुवन आर्मी फुटबल क्लवले थ्री स्टारसँग संघर्षपूर्ण बराबरी खेलेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मीले थ्री स्टारसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए।
६९औं मिनेटमा आर्मीका गोलकिपर विकेश कुथूले रिलिज गरेको बल निकै महंगो बनेको थियो । कुथू अगाडि बढ्दै लो एंगलबाट प्रहार गरेकाे बललाई लाकेन लिम्बूले मैदानको मध्य भागमा नियन्त्रण लिएर सिधै गोलपोस्टमा प्रहार गर्दा थ्री स्टारले अग्रता लिन सफल भएको थियो।
तर खेलमा फर्किन निकै प्रयास गरेको आर्मीले चार मिनेट बाँकी रहँदा दिनेशको हेडर बलबाट खेल बराबरीमा ल्याउन सफल भयो। यस बराबरीसँगै थ्री स्टारले तेस्रो स्थानको मच्छिन्द्रसँग अंक दुरी घटाउने मौका गुमाएको छ भने आर्मी पनि चौथो स्थानमा उक्लिने मौका गुमाएको छ।बराबरी पछि थ्री स्टारको १८ खेलबाट २६ अंक भएको छ भने आर्मीको समान खेलबाट २३ अंक भएको छ।