Sajha Post
ए डिभिजन क्लबहरुको गुनासो : एन्फाका कारण फुटबल धरासायी हुने स्थिति आयो

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग खेलिरहेका क्लबहरुले अखिल नेपाल फुटबल संघ एन्फाको गैरजिम्मेवार व्यवहारले  नेपाली फुटबल धरासायी हुने स्थिति आएको भन्दै असन्तुष्टि जनाएका छन् । 

ए डिभिजनका १४ मध्ये ११ क्लबले काठमाडौंमा पत्रकार सम्मेलन गरी एन्फाको कार्यशैली र क्लबरुसँग गरेकाे सम्झौता  कार्यान्वयन नभएकोमा असन्तुष्टि व्यक्त गरे।

आफूहरुले तयारी खर्चबापत पाउनुपर्ने दोस्रो र तेस्रो किस्तानसहित म्याच मनी र प्लेयर अफ द म्याचले पाउनुपर्ने रकमसमेत अहिलेसम्म नपाउँदा निरुत्साहित बनेको उनीहरुले बताएका छन् । 

क्लबहरुले एन्फाले अघिल्लो वर्षकै बाँकी ७ लाख ५० हजार तथा जारी लिगको तयारी रकम स्वरुप पाउनु पर्ने दोस्रो किस्ताको १० लाख रुपैयाँ उपलब्ध नगराएको, लिग व्यवस्थित रुपले सञ्चालन गर्न नसकेको, एकेडेमी सञ्चालनमा उदासिन देखिएको, समयमै रकम उपलब्ध नहुँदा एकेडेमी बन्द गर्नुपर्ने अवस्था आएको, उमेर समूहका प्रतियोगिताहरु आयोजना गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

यसैगरी क्लबहरुले फुटबलको विकाशमा भन्दा पनि एन्फा कार्यसमिति आफ्नो सेवा सुविधा थप गर्नेमै व्यस्त रहेको, लिगको प्रत्यक्ष प्रशारण रोकिँदा दर्शकहरु खेल हेर्नबाट बञ्चित हुनुपरेको, एन्फाले पर्याप्त मात्रमा म्याच बल उपलब्ध गराउन नसकेको, लिग तालिका अवस्थित हुँदा खेलाडी घाइते हुने क्रम बढेको आरोप लगाए ।

उनीहरुले आफूहरुले जस्तो सुकै परिस्थितीमा पनि फुटबलको विकाशका लागि खेलरहँदा पनि जिम्मेवार निकाय एन्फा भने मौन रहेको र यसले गर्दा आर्थिक संकट बढेको हुँदा एन्फालाई सचेत गराउन बाध्य भएर पत्रकार सम्मेलन गुर्न परेको बताएका छन् ।

‘हामीले अहिलेसम्म तयारी खर्चबापतको दोस्रो र तेस्रो किस्ताको रकम पाउन सकेका छैनौं। म्याच मनी र प्लेयर अफ द म्याचले पाउने पैसा पनि दिइएको छैन।' ए डिभिजन टिम संकटाका अध्यक्ष इन्द्रमान तुलाधरले गुनासो गरे, 'खेलतालिका पुनर्विचार गर्नका लागि पटक पटक भन्यौं, सुनुवाइ भएन। अहिले एक दिनको अन्तरमा पनि खेल खेल्नुपर्ने अवस्था छ।’

एन्फाले ए डिभिजन क्लबहरुलाई ३२ लाख ५० हजार रुपैयाँ तयारी खर्च तीन किस्तामा दिने सम्झौता गरेको थियो। १९ फागुनमा लिग सुरु हुनुपूर्व पहिलो किस्ताबापतको १५ लाख पाएका क्लबहरुले बाँकी रकम पाउन सकेका छैनन्।

machhapuchhre bank

‘पहिलो चरणको लिग सकिएपछि दोस्रो किस्ता दिने भनिएको थियो। हामीले ज्ञापनपत्र पनि दियौं । एक सातामा दिने भनिएको थियो आज एक महिनाभन्दा बढी भयो,’ एन्फाका पूर्व महासचिवसमेत रहेका संकटाका अध्यक्ष तुलाधरले भने।

फुटबल विकासका लागि लागि परेका क्लबहरुलाई निराश बनाउँदा फुटबल धरासायी हुने स्थिति आएको क्लबहरुको भनाई छ।एन्फाले ए डिभिजन लिगमा राम्रो योजना र व्यवस्थापन गर्न नसकेको मात्र होइन राष्ट्रिय टिमको ब्याकअपका रुपमा रहने यू-२३ टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बन्चित गरिएकोमा पनि क्लबहरुले असन्तुष्टि जनाएका छन्।

‘पदाधिकारी रिझाउने र कार्यसमितिमा बहुमत पुर्याउन तल्लीन वर्तमान कार्यसमिति आफ्नो सेवा सुविधा बढाउन मात्र केन्द्रित देखिन्छ,’ क्लबहरुले संयुक्त वक्तब्यमा उल्लेख छ ।

एन्फा पूर्व महासचिव तुलाधर भने एन्फाले कार्यक्रम तथा बजेटका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने निर्णय नगरेको नभई टिम दर्ता गर्न बिर्सिएको हुनसक्ने अनुमान गरे । ‘राष्ट्रिय टिमको अन्तर्राष्ट्रिय भ्रमणका लागि फिफाबाट हरेक वर्ष २ लाख अमेरिकी डलर आउँछ । यस्तो रकम एन्फामा ५ लाख डलर बाँकी छ,’ तुलाधरले प्रश्न गरे, ‘पैसा हुँदाहुँदै बजेटका कारण प्रतियोगिता खेल्न सकेनौं भन्न मिल्छ ? ’

हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफा र एएफसीको अनुदानमा मात्र फुटबल सन्चालन गर्न खोज्नु मुर्खता भएको बताए।

‘फिफा र एएफसीको पैसाले मात्र फुटबल गर्ने हो भने एन्फाको त्यति ठूलो संरचना किन चाहियो रु,’ एन्फाका पूर्व अध्यक्ष शेर्पाले भने, ‘आफूले मार्केटिङ गर्न नसक्ने । पहुँच र पहल गर्न नसक्ने अनि बजेट भएन भन्ने । नेपालको फुटबल संघ गैंडाको छालाभन्दा पनि कडा देखियो । उनीहरुलाई कुनै महशुस नै छैन।’

उनले एन्फा आर्थिक रुपमा धरासायी बनेकोमा चिन्तासमेत व्यक्त गरेका छन् । एन्फामा अहिले पनि ५० लाख डलरभन्दा बढी रकम रहेको भन्दै शेर्पाले नेतृत्वको व्यवस्थापकीय क्षमतामा प्रश्न गरे । क्लबहरुले खेलाडीको पारिश्रमिकमा १५ प्रतिशत कर लगाउने एन्फाको नयाँ नियमको पनि विरोध गरेका छन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update