काठमाडौं । नेपाल र वेस्टइन्डिज ए बीचको दोस्रो टी–२० खेल आज हुँदैछ । खेल दिउँसो १२ ः१५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो ।
२०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए । पहिलो खेलको प्रदर्शनले टोलीको मनोबल उच्च छ । तर, रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेका थिएनन् ।
पहिलो खेलमा करण केसी र सोमपाल कामी दुवै थिएनन् । आज यी दुई मध्य एकलाई मौका दिनसक्छ । कमलसिंह ऐरीलाई आज पनि नेपालले मौका दिनसक्छ । आज विवेक यादवको ठाउँमा लोकेश बमलाई मौका दिनसक्ने सम्भावना छ । पहिलो खेलमा अनिल साहले राम्रो पदर्शन गर्न सकेनन ।
तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेलिरहेको छ। शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।