काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ कलंकीस्थित सडकमा बा ४ ख ४५६८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही महानगरपालिक १४ बस्ने ६३ वर्षीया अम्बिका वाग्लेको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोल ट्याम्पो पार्कस्थित सडकमा बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०६५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक खोटाङ साकेला गाउँपालिका घर भई ललितपुर लुभु बस्ने २६ वर्षीय लकेश राई र स्कुटर चालक काठमाडौं साँखु घर भएका २१ वर्षीय आयुष श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लकेशको बीएण्डबी अस्पताल ग्वार्कोमा र स्कुटर चालक आयुषको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार सिरहाको अर्नमा गाउँपालिका ४ गोतहा पुलस्थित सडकमा लक्ष्मिपुरबाट सिरहातर्फ जाँदै गरेको स १० प ६३९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका ३ बस्ने ३६ वर्षीय जितेन्द्र प्रसाद यादवको मृत्यु भएको छ ।
शुक्रबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगर मोरङमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो ।


