न्यूयोर्क । संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज भन्ने नाराका साथ विहीवारदेखि प्रदर्शनी शुरु भएको हो ।
मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दुतावास न्यूयोर्कले संयुक्त रुपमा आयोजनामा गरेको प्रदर्शनी जुलाई १७ सम्म चल्नेछ ।
प्रदर्शनीको उद्घाटन गर्दै संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले मिथिला चित्रकला प्रदर्शनीले आफुलाई गम्भिर र मानवताको रक्षाका लागि विश्व एक भएर अघि बढ्नु पर्नेमा जोड दिए ।
समारोहलाई सम्बोधन गर्दै स्थायी नियोग प्रतिनिधी एवं राजदुत लोक बहादुर थापाले मिथिला चित्रकलाले सांकेतिक रूपमा दिएको सन्देशलाई गम्भिर रूपमा लिनुपर्ने बताए। उनले जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनिकरणका लागि गम्भिर हुन उच्च नेतृत्वलाई आग्रह पनि गरे ।
नेपाली महावाणिज्य दुतावास न्यूयोर्कका कार्यवाहक महावाणिज्यदुत चक्र सुवेदीले मिथिला सभ्यता नेपालको ऐतिहासिक पहिचान भन्दै जलवायु परिवर्तनले पारेको असर र यसमा सम्पूर्ण विश्वलाई गम्भीर बनाउने उद्देश्यसहितको प्रदर्शनी आफैमा महत्वपूर्ण भएको बताए ।
त्यस्तै न्यूयोर्कका लागि नेपाल सरकारका पर्यटन प्रवर्धक गोकुल श्रेष्ठले प्रदर्शनीले नेपाली कलालाई विश्वमाझ चिनाउने मात्र नभई नेपाली सभ्यतासँग जोडिएको गर्विलो इतिहासलाई जीवन्त बनाउने बताए ।
संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा जारी दिगो विकास लक्ष्य (एसडीजी) को उच्चस्तरीय सम्मेलनलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनीले दिगो विकास लक्ष्य हासिल गर्नका लागि अपनाउनु पर्ने नीतिका बारेमा दवाव दिने अपेक्षा गरिएको मिथिला सेन्टर अमेरिकाका अध्यक्ष अमित प्रताप शाहले जानकारी दिए । जलवायु परिवर्तन, वातावरणीय चेतनासँगै दिगो विकास लक्ष्य हासिल गर्न सांस्कृतिक सम्पदाको भूमिका महत्वपूर्ण हुने भएकोले संयुक्त राष्ट्र संघको मुख्यालयमा प्रदर्शनीको आयोजना गरिएको उनले बताए ।
मिथिला कला प्रकृतिसँग जोडिएको र यसले पारेको प्रभाव चित्रकलाबाट प्रस्तुत गरिएको मिथिला चित्रकार प्रतिक रायमाझीले जानकारी दिए । प्रदर्शनीले मिथिला कला र नेपाली संस्कृतिको प्रवद्र्धनमा टेवा पुग्ने रायमाझीको विश्वास छ ।
निकै अर्थपूर्ण र कलात्मक रुपमा कोरिएका मिथिला चित्रले संयुक्त राष्ट्र संघको मुख्यालयमा उपस्थित भएका संसारभरका उच्चपदस्थ प्रतिनिधिहरुको ध्यानाकर्षण गरेको छ । प्रदर्शनीमा मिथिला चित्रकारहरु स्वयम्ले यसको बारेमा व्याख्या गरिरहेका छन् ।
दक्षिण नेपालका साथै उत्तरी भारतको मिथिला क्षेत्रको गौरव, ईतिहास, कला, सभ्यता, परम्परा र मौलिकतालाई दर्शाउने मिथिला चित्रकला साहित्यिक ज्ञान र कथाहरुसँग जोडिएको छ । सबैभन्दा पुरानो जीवित संस्कृति र सभ्यता मध्येको एक यो सम्पदाले मानव समाजमा शान्ति, स्थिरता, मित्रता, सद्भाव र समृद्धिमा योगदान पुर्याउने सेन्टरका अध्यक्ष शाहले विश्वास व्यक्त गरे ।
प्रदर्शनीमा एस के सुमन, प्रतिक रायमाझी, नुपुर निशिथ, शैली झा, शिभांगी सिं, मनिश सिं लगायतका चित्रकार उपस्थिति छ । त्यस्तै जनकपुर महिला विकास केन्द्रका कलाकारहरु सेलो यादव, सुधिर कर्ण, कोमल पूर्वे, निर्मला राम, मञ्जुला ठाकुर, सेब्ती मण्डल र अमृता दत्तको पनि प्रदर्शनीमा सहभागिता छ ।


