काठमाडौं । शेयर बजारमा झण्डै ३० अर्बको ऐतिहासिक कारोबार भएको छ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कीर्तिमानी कारोबार भएको हो
यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि सोमबार २७ अर्ब २४ करोडको उच्च रेकर्ड कारोबार भएको थियो ।
नेप्से परिसूचक पनि ४३ अंकले बढेको छ । वृद्धिपछि नेप्से ३०००.८१ अंकमा कायम भएको छ । जुन अंक तीन वर्ष अघिको भन्दा बढी हो । । आज १०५ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने एकको स्थिर रह्यो ।
बिहीबार १०५ कम्पनीको सेयर बढेको छ भने १३७ कम्पनीको घटेको छ। एउटा कम्पनीको मात्रै अघिल्लो मूल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
साताको अन्तिम कारोबार दिन आज बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको छ। योसँगै कम्पनीका लगानीकर्ताले क्रमशः ४४.२०, १६९० र ३१ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।
आजको कारोबारमा नेपाल फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ। लगानीकर्ताले २३० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका हुन्। अन्य कम्पनीहरुको अधिकतम ७.२२ प्रतिशतसम्मले सेयर मूल्य घटेको छ।
त्यसैगरी आज सर्वाधिक कारोबार हिमालय रि इन्स्योरेन्सको भएको छ। कम्पनीको ९१ करोड ३३ लाख २२ हजार रुपैयाँको सेयर किनबेच भएको छ। यसबाहेक सानिमा माई हाइड्रोपावरको ८३ करोड २३ लाख, अपि पावरको ६५ करोड, कुमारी बैंकको ६१ करोड ७७ लाख र निफ्राको ६० करोड रुपैयाँको कारोबार भएको छ।
उपसूचकतर्फ आज फाइनान्स, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र अन्यतर्फका सूचक राताम्य हुँदा निर्जीवन बीमा, वाणिज्य र विकास बैंक, होटल, जलविद्युत हरियो छन्।


