काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
साउनको तुलनामा भदौमा ११ वाणिज्य बैंकले ब्याजदर सामान्य घटाएका छन्। बैंकहरूले औसतमा ०.२१ प्रतिशतले ब्याज घटाएका छन्। तरलताा अधिक भइरहेको अवस्थामा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर क्रमशःकम गर्न थालेका हुन्।
लगानीयोग्य रकम पर्याप्त हुनु, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दर ५.५ बाट ५ प्रतिशतमा झारिनु, ब्याजदर करिडोरको माथिल्लो सीमा ७ बाट ६.५ प्रतिशतमा झारिनुले भदौमा बैंकहरुलाई ब्याजदर घटाएका हुन् ।
२० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार एउटा बैंक प्राइम कमर्सियलले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने ७ बैंकले स्थिर राखेका छन् । स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका छन् ।
१२ बैंकले ब्याजदर घटाएका छन् । जसले गर्दा औसत ब्याजदर पनि घटेको छ । साउन महिनामा व्यक्तिगत मुद्दतीमा २० वाणिज्य बैंकहरुको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत रहेकोमा भदौमा यो घटेर ६.५४ प्रतिशतमा झरेको छ ।
साउनको तुलनामा भदौमा ब्याजदर घटाउने बैंकमा कृषि विकास, राष्ट्रिय वाणिज्य, एसबीआई, नेपाल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, एनएमबी, एनआईसी एसिया, हिमालयन र एभरेस्ट छन् ।
लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुनेछ ।
भदौमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर जम्मा ७.४१ प्रतिशत कायम भएको छ । जुन एनएमबी र एनआईसी एसिया बैंकको छ । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ ।
संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।


