काठमाडौं । ‘सेकेन्ड आईसीसी ईमर्जीङ एसिया बैंकिङ अवार्डस्’ अन्तर्गतको 'बेस्ट इन डिजिटल बैंकिङ अवार्ड' एनआईसी एसिया बैंकले पाएकाे छ।
इण्डियन चेम्बर अफ कमर्सको '2nd ICC Emerging Asia Banking Awards' अन्तर्गत शुक्रवार भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ्ग कनक्लेभ २०२४’ कार्यक्रममा बैंकलाई अवार्ड प्रदान गरिएको हाे ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको र पुरस्कारले डिजिटल बैंकिङमा अझ बढी उत्प्रेरणा प्रदान गरेको बैंकले जनाएकाे छ ।
यस अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका देशहरुका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट एनआईसी एसिया बैंक अवार्ड प्राप्त गर्न सफल भयाे ।
अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको थियो ।


