२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

इसराइलको मिसाइल आक्रमणमा हिजबुल्लाहका अर्का कमाण्डर पनि मारिए

इसराइलको मिसाइल आक्रमणमा हिजबुल्लाहका अर्का कमाण्डर पनि मारिए

आइतबार, असोज ६ २०८१
  • images
    images
    इसराइलको मिसाइल आक्रमणमा हिजबुल्लाहका अर्का कमाण्डर पनि मारिए
    Image Source: RSS/AP

    एजेन्सी । लेबननमा इसराइलको हवाई आक्रमणमा हिजबुल्लाहका अर्का कमाण्डर पनि मारिएका छन् । शुक्रबार लेबननको राजधानी बेरूतस्थित दक्षिणी क्षेत्रको ठूला ठूला भवनहरू रहेको ठाउँमा इसराइलले मिसाइल प्रहार गरेको थियो ।


    images

    हमलामा हिजबुल्लाहका अर्का कमाण्डर अहमद वाहबी मारिएको समाचार संस्था रोयटर्सले जनाएको छ । मिसाइल प्रहार हुँदा भत्किएका घरहरूको भग्नावशेषमा उनी पुरिएका थिए । भग्नावशेषबाट थप ६ जनाको शव निकालिएको थियो ।

    शनिबार ३१ जनाको मृत्यु भएको भनिएकोमा सो संख्या बढेर ३७ पुगेको रोयटर्सले उल्लेख गरेको छ । हिजबुल्लाहका कमाण्डर इब्राहिम अकिल मारिएको शनिबार नै सार्वजनिक भएको थियो। अकिल र वाहबी हिजबुल्लाहको एलिट रेडवन फोर्सका शीर्षमध्येका कमाण्डर रहेको रोयटर्सले जनाएको छ । इसराइली हमलामा १६ जना हिजबुल्लाहका लडाकु मारिएको बताइएको छ ।

    इसराइलले त्यहाँ भूमिगत रूपमा बसेका हिजबुल्लाहका लडाकूहरू रहेकाले उनीहरूलाई लक्षित गरी आक्रमण गरिएको बताएको छ । यद्यपि आक्रमणमा नागरिकहरू पनि मारिएका छन् । रोयटर्सका अनुसार शुक्रबारको आक्रमणमा तीन बालबालिका र सात महिलाहरू मारिएका थिए। ठूलो संख्यामा मानिसहरू घाइते पनि भएका छन्।

    लेबनन र सिरियाका केही ठाउँहरूमा मंगलबार हिजबुल्लाह समूहका सदस्यले बोकेका हजारौं पेजरहरू एकसाथ विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने लगभग तीन हजार घाइते भएका थिए । त्यसको भोलिपल्ट त्यसरी नै लेबननमा हिजबुल्लाह सदस्यले बोकेका वाकी-टकी अचानक विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु र अरू ४०० जनाभन्दा बढी घाइते भएका थिए ।

    मंगलबारको आक्रमणमा मारिएका केहीको सामूहिक अन्तिम संस्कार भइरहेको ठाउँमा समेत बुधबार वाकी-टकी विस्फोट भएर केही हताहत भएका थिए । हिजबुल्लाहले पेजर विस्फोटमा इसराइलको हात रहेको दाबी गरेको छ । इसराइलले भने उक्त विस्फोटबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । 

    देशबाहिर आफूले गर्ने खुफिया कारबाही र हत्याबारे इसराइल अरू बेला पनि बोल्दैन । संयुक्त राष्ट्रसंघले सञ्चारमाध्यमका सामग्रीहरूमार्फत विस्फोट गराउनु अन्तर्राष्ट्रिय मानवअधिकार कानुन विपरीतको काम भनेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा पेजर विस्फोटको विषयलाई लिएर  लेबननका विदेशमन्त्री अबदल्लाह बऊ हबिब र संयुक्त राष्ट्रसंघका लागि इसराइलका राजदूत ड्यानी डेननबीच भनाभन भएको थियो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार