काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय विद्यार्थीस्तरको इन्जिनियरिङ प्रदर्शनीको आयोजना हुने भएको छ। प्रविधि र शिक्षामा क्रियाशील संस्था इन्जिनियर्स भ्लग्सले प्रदर्शनी आयोजना गर्न लागेको हो ।
अर्बिट इन्जिनियरिङ एक्स्पो २०२२ को ठूलो सफलता पाएको संस्थाले अर्बिट इन्जिनियरिङ एक्स्पो २.० आयोजना गर्न लागेको हो। प्रदर्शनी आगामी मंसिर २१ देखि २३ गतेसम्म ललितपुरको सानेपामा रहेको सगरमाथा इन्जिनियरिङ कलेजमा आयोजना हुनेछ ।
एक्स्पो २.० मा १०० भन्दा बढी भविष्यमुखी परियोजनाहरू प्रदर्शन गरिनेछ। जसमा विभिन्न देशहरूबाट सहभागीहरू हुनेछन्। तीन दिनमा ५० हजार भन्दा बढी दर्शकले कार्यक्रममा सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
प्रदर्शनका आकर्षकहरु के-के हुन् ?
यो प्रदर्शनीले इन्जिनियरिङ र मेडिकल विद्यार्थीहरूलाई उनीहरूको नवप्रवर्तन परियोजनाहरू प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउनेछ। जहाँ नेपाल प्रहरी र नेपाली सेनाले पनि आफ्ना प्रविधिहरू प्रदर्शन गर्नेछन् ।
यस वर्षको अर्बिट इन्जिनियरिङ एक्स्पो २.० ले पहिलो पटक इन्जिनियरिङ र मेडिकल पेशेवरहरूलाई एउटै मञ्चमा आफ्ना परियोजनाहरू प्रस्तुत गर्ने अवसर प्रदान गर्दै यी दुई महत्त्वपूर्ण क्षेत्रहरूबीच सहकार्यलाई प्रोत्साहन गर्नेछ ।
अर्बिट इन्जिनियरिङ एक्स्पो २.० एक रोमाञ्चक र क्रियाकलापले भरिएको महोत्सव हुनेछ । जसमा २० भन्दा बढी प्रारम्भिक कार्यक्रमहरू र ३० भन्दा बढी प्रमुख कार्यक्रमहरू हुनेछन् ।
सहभागीहरूले अन्तर्राष्ट्रिय रोबो युद्ध, अन्तर्राष्ट्रिय रोबोट सकर, जुनियर रोबोट रेस, भविष्यमुखी परियोजनाहरूको प्रदर्शन ४८ घण्टे ह्याकाथन, सीएडी प्रतियोगिता, सर्वे च्यालेन्ज, कोड-डिकोड प्रतियोगिता, युआई-युएक्स डिजाइन प्रतियोगिता, टेक-डिबेट र अन्य धेरै आकर्षक गतिविधिहरूको अवलोकन गर्न पाउनेछन् ।
यो कार्यक्रम सबै उमेर समूहका लागि खुला हुनेछ । जसमा तीन दिनसम्म चल्ने मेगा निःशुल्क स्वास्थ्य शिविर पनि समावेश हुनेछ। महोत्सवको समापनमा इन्जिनियर्स म्युजिकल नाइट हुने छ । जहाँ प्रमुख ब्यान्डहरूले अत्याधुनिक स्टेजमा उच्च उर्जाका प्रस्तुति दिनेछन् । नेपालभरका ५६ जना इन्जिनियरको टोलीले अर्बिट इन्जिनियरिङ एक्स्पो २.० लाई यथार्थमा परिणत गर्न जिम्मेवारी लिएका छन् । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।


