२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो...

दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो...

साझा पोष्ट
शुक्रबार, असोज ११ २०८१
  • images
    images
    दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो...

    गण्डकी ।
    ‘महँगी बढेर सेक्यो ढाड पनि
    गरिबै रुवाउन आउँछन् चाड पनि
    रित्तो भकारीकसो गरी उम्काम्ला पाहुनालाई खै के टकारी…!’


    images

    गायिका लक्ष्मी गौतमद्वारा स्वरबद्ध यो गीतले भने झैँ सबैका घरआँगनमा दसैँ उमंग लिएर भित्रिँदैन । महँगीको मार खेप्न बाध्य निम्न वर्गीय परिवारको दुःखसाह्रोलाई उक्त गीतले चित्रित गरेको छ ।

    गायिका गौतम र गायक विष्णु खत्रीले गाएको दसैं गीत ‘रित्तो भकारी…’ ले गरिबी र अभावको दुष्चक्रमा फसेको परिवारका लागि चाडबाड कसरी दशा बनेर आइपुग्छन् भन्ने देखाउँछ । शब्द, संगीत र अभिनयको जीवन्त प्रस्तुतिले गीत जोकोहीलाई यथार्थपरक बोधगम्य लाग्छ ।

    गीतले भन्छ –
    ‘मन हुन्छ अमिलो खल्ती छाम्दा नि
    दुई पैसा कहीँबाट छैन आम्दानी
    दसैँ आइसक्यो
    रित्तो गोजी, रित्तै छ भकारी
    परान खाइसक्यो…।’

    गायक खत्रीलाई दसैँगीतका पर्याय भन्दा अतियुक्ति नहोला ! ‘रित्तो भकारी…’ उनको सत्रौँ दसैँगीत हो । विसं २०६४ यता खत्रीले सालिन्दा दसैँगीत सार्वजनिक गर्दै आएका छन् । उनको पहिलो दसैँगीत ‘सुनको जलप…’ हो । जुन गीत उबेला चर्चित बनेको थियो । ‘यसपालिको दसैँगीतले देशको वर्तमान अवस्था र नेपाली समाजको मनोदशालाई चित्रित गर्ने प्रयास गरेको छ’, उनले भने ।

    १७ वर्षका अन्तरालमा पनि खत्रीका हरेक दसैँगीतका विषय, अन्तर्य र भावभूमि करिब उस्तै छन् । उनका प्रायः गीतमा प्रवासिएका नेपाली र तिनका स्वजनका दुःख–बेदना समेटिएको पाइन्छ । खत्रीका गीतले चाडबाड आएको छनक पनि दिन्छन् ।

    मार्मिक सिर्जना र ग्रामीण परिवेशको झ–झल्को खत्रीका दसैँगीतका विशेषता हुन् । समाजका गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन खत्री पारंगत छन् ।

    ‘हरेक सिर्जनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास मबाट हुन्छ’, खत्रीले भने, ‘दसैँगीतले मलाई भिन्नै चिनारी दिएको छ, कतिपय स्रोताले त विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ भनेर रमाइलो ढङ्गले प्रेरित पनि गर्नुहुन्छ ।’

    दुई दशकदेखि लोकसंगीतमा सक्रिय उनका दसैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक हुँदै आएका छन् । गत वर्षको दसैँमा खत्रीले ‘दसैँ–तिहार गाउँमा…’ ल्याएका थिए । त्यसअघि उनका ‘दसैँ–तिहार सँगै मनाउँला…’, ‘रिनै रिनको…’, ‘दसैँमा आउ प्यारा…’, ‘जहाजको टिकट…’, ‘कति रुनी हो…’लगायत गीत सार्वजनिक भएका थिए । प्रायः सबै गीतमा शब्द र संगीत पनि गायक खत्रीकै रहेको छ ।

    दसैँको छेकोमा गायक खत्रीसहित कैयन गायकगायिकाका दसैँगीत युट्युबमा छाइरहेका छन् । कतिपय गीत सार्वजनिक हुने क्रममा छन् । केही दसैँगीत युट्युब ‘ट्रेन्डिङ’समेत उक्लेका छन् । कुनै गीतमा परदेशीका पीडा छचल्किएका छन् भने कुनै गीतमा दसैँले गाउँघरमा ल्याउने रौनकको चित्रण छ ।

    गायक पुरुषोत्तम पौडेल र गायिका सुनिता बुढा क्षेत्रीको ‘आयो है दसैँ आयो…’ गीतमा दसैँमा गृहथलो फर्किन लागेका परदेशी र उनलाई घरमा पर्खिरहेका स्वजनको सम्वाद छ ।

    परदेशी भन्छन् –
    ‘मनमा खुसी उमंग छाउँदैछु
    पाँच वर्षपछि म नेपाल आउँदैछु
    आयो है दसैँ आयो
    नाच्न र गाउन रमाउन मन लाग्यो…।’

    घरमा रहेकी उनकी जीवनसाथी भन्छिन् –

    ‘भित्ताको पात्रो फेरेको फेरै छु
    तिम्रै मूलबाटो हेरेको हेरै छु
    आयो है दसैँ आयो
    नाच्न र गाउन रमाउन मन लाग्या…।’

    वर्षौँपछि दसैँमा घर फिरेका परदेशीको खुसी एकातिर, अर्कातिर दसैँमा घर आउन नपाएकाको पीडा । गायक ऋषि खड्का र गायिका तुलसी विकको दसैंगीत ‘परदेशी हरायो’ले यही भनिरहेको छ । दसैँमा घर आउन नपाउँदा परदेशीको मन यसरी कुँडिन्छ –

    ‘तिम्रो जुनी फेर्नु थ्यो त्यस्तै भो
    यो साल पनि आइन घर यस्तै भो
    दशैँ आयो तिहारै आयो
    परदेशी हरायो…।’

    दसैँका बेला परदेशीको पखाईको पीडा गीतमा यसरी पोखिन्छ –

    ‘प्यारा तिमी हङकङ मलाय
    यता घर जमारा पलाए
    दशैँ आयो तिहारै आयो..।‘

    गायक हेमन्त शर्मा र गायिका मेलिना राईको ‘आउँथ्यो दसैँ आउन त पहिले नि…’ गीतलाई पनि दर्शक/स्रोताले रुचाएका छन् । नौ दिनअघि सार्वजनिक उक्त गीतको चलदृश्यलाई युट्युबमा १२ लाखभन्दा बढी पटक हेरिएको छ ।

    युट्युबमा सबैभन्दा धेरै हेरिएकोमध्ये उक्त गीत दोस्रो स्थानमा पर्न सफल भएको छ । गायक ईश्वर सिंह र गायिका सुनिता बुढा क्षेत्रीले दसैँगीत ‘हाँसे पुग्छ, बोले पुग्छ…’ ल्याएका छन् ।

    गायक बसन्त थापा, कुलेन्द्र विश्वकर्मा, पशुपति शर्मा र गायिका समीक्षा अधिकारीले गाएको दसैँगीत ‘शुभकामना दसैँको…’ केही दिनअघि सार्वजनिक भएको छ । अधिकांश दसैँगीतले आजको नेपाली समाजको मनोदशालाई समेटेका छन् ।

    ‘सम्झाना गाउँघर…’ गीतमा गायक अमृत बराल र गायिका रञ्जिता विश्वकर्माले झैँ –
    ‘कोही घरदेशमा कोही परदेशमा भइयो टाढा–टाढा
    जहाँ छौँ हामी त्यही बसेर मनाऔँ चाडबाड
    आइहाल्यो चाडबाडको लर्को
    आइहाल्यो सम्झना गाउँघरको…।‘-रासस

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार