काठमाडौं । माल्दिभ्सलाई पराजित गर्दै श्रीलंकाले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबारको पहिलो खेलमा श्रीलंकाले मालदिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
खेलको १८ औँ मिनेटमा इमेसा अनुराधिनीले गरेको गोल र्नै श्रीलंकाका लागि निर्णायक बन्यो । परेराको क्रसमा इमेसा अनुराधिनीको गोलमा श्रीलंकाले सुरुवाती अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा श्रीलंकाले पहिलो जित निकालेको हो ।
खेलको ३६ औँ मिनेटमा इमिसा अनुराधिनीको प्रहार मालदिभ्सकी गोलरक्षक अमिनाथ लिजाले रोकिन् त्यसकै रिवाउन्डको उनकै प्रहार किपरले पन्च गर्दै जोगाएकी थिईन् । पहिलो हाफको आठौँ मिनेटमा गोलरक्षक अघि बढेको मौकामा श्रीलंकाकी सिभानेसस्वरन थर्मिकाले डिफेन्डरलाई बिट गर्दै गरेको फितलो प्रहार सेकेण्ड बारमा लाग्दै बाहिरियो। १५ औँ मिनेटमा श्रीलंकाकी कोस्वाथेस परेराको कर्नर मालदिभ्सकी डिफेन्डरले क्लीयर गरिन् ।
जितसँगै ३ अंक जोडेको श्रीलंका समूह बी को शीर्ष स्थानमा उक्लिएको छ । आजै हुने समूह बी को दोस्रो खेलमा घरेलु टोली नेपाल र भूटान भिड्दैछन् ।


