२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कथा सकिने डरले चलचित्र निर्देशक बनेका प्रकाश सपूत

कथा सकिने डरले चलचित्र निर्देशक बनेका प्रकाश सपूत

साझा पोष्ट
आइतबार, पुस २८ २०८१
  • images
    images
    कथा सकिने डरले चलचित्र निर्देशक बनेका प्रकाश सपूत

    काठमाडौं । प्रकाश सपूतको परिचय गायक, संगीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ। गीत र श्रव्य दृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका सपूतले चलचित्र पनि निर्माण गरेका छन्। चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उनलाई पाउन सकिन्छ। 


    images

    एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठिनाइ हुँदैन त? यस जिज्ञासामा गायक सपूतले आउँदा दिनमा एक विधामा मात्र केन्द्रित हुने प्रतिक्रिया दिए। उनी निर्देशित पहिलो चलचित्र ‘वसन्त’मा समावेश पहिलो गीत ‘साँझ प¥यो झमक्कै’ सार्वजनिक गर्न शनिबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा गायक सपूतले आउँदा दिनमा एक विधाबाहेक अरूको जिम्मेवारी नलिने बताएका हुन्। 

    “आफैले सबै काम गर्दा गाह्रो नै हुने रहेछ। विशेषतः निर्देशन र अभिनय एकैपटक गर्दा दुवैमा ऊर्जा बाँडिएको महसुस भयो। त्यसैले आउँदो चलचित्रमा म निर्देशक भएमा आफ्नो दृश्यलाई निकै कम राख्छु, नत्र सुनिल विकलाई निर्देशनको जिम्मेवारी दिन्छु र म अभिनयमा मात्र केन्द्रित हुन्छु,” उनले भने, “किनकि पछिल्ला कामभन्दा कमजोर नहोस् भन्ने मेरो प्रयास रहन्छ।”

    यस विषयमा अभिनय र निर्देशनसँगै गरिरहेका निश्चल बस्नेत, अर्पण थापालगायतसँग छलफल गरेको गायक सपूतले बताए। गायनमै व्यस्त हुँदा चलचित्र निर्देशनमा आउनु कथालाई धेरै दर्शकसम्म पु¥याउने चाहना भएको उनको भनाइ छ। 

    “भोगाइ, देखाइसहितका आफ्ना कथा गीतमार्फत व्यक्त गरिरहेको थिएँ। मलाई ती कथा गीतमै सकाउँछु कि भन्ने लाग्यो,” उनले भने, “त्यही भएर चलचित्र बनाउने योजनालाई मूर्तरूप दिएको हुँ। यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो।” यो चलचित्रको कथामा बालापन र भोगाइ भए पनि आफ्नै जीवनी भने नरहेको गायक सपूतले स्पष्ट पारे। 

    अभिनेत्री स्वस्तिमा खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गरेको बताइन्। “गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ। उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ,” उनले भनिन्, “यो चलचित्रमा जोडिएर शान्ति नामक पात्र बाँच्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु। यो मलाई वर्षौंसम्म सम्झिने पात्र बन्ने छ।”

    सार्वजनिक गरिएको ‘साँझ प¥यो झमक्कै’ गीतमा शब्द, संगीत र स्वर सपूतकै रहेको छ भने गायनमा शान्तिश्री परियारले साथ दिएकी छन्। चलचित्रमा प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन्। 

    आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षलाई चलचित्रको विषय बनाइएको निर्माण पक्षले जनाएको छ। यो चलचित्र चैत २२ गतेदेखि प्रदर्शनमा आउनेछ। -रासस

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार