बुटवल । रोल्पा नगरपालिका–३ चौर पानीमा तेह्रौँ दिनको प्रसाद खाएर एउटै गाउँका सय १० जनाभन्दा बढी बिरामी परेका छन्।
शनिवार तिलकप्रसाद रोक्काको घरमा बुवाको तेह्रौँ दिनको पुण्य तिथिमा प्रसाद खाएका गाउँका धेरैजसो मानिसहरू बिरामी परेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी वीरेन्द्र विश्वकर्माले जनाएका छन् ।
‘प्रसाद खाएका गाउँभरिका मान्छेहरू एकपछि अर्को गर्दै बिरामी परे,खानामा समस्या देखिएको छ।’ डीएसपी विश्वकर्माले भने । रोक्काको घरमा बनाइएको दालभात, पुरी र अचारसहितको खाना खाएकामध्ये धेरैलाई पखाला र लगातार बान्ता, टाउको दुख्ने, ज्वरो, समस्या देखिएको हो।
चिकित्सकहरूले खानामा ‘फुड प्वाइजन’ भएको प्रारम्भिक अनुमान गरेका छन्। डीएसपी विश्वकर्माका अनुसार अहिलेसम्म अधिकांश बिरामीहरू उपचारपछि घर फर्किएका छन्।
तर, आठ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। रोक्काका आफन्त र गाउँले गरी करिब १५० जनाले खाना खाएका थिए। तीमध्ये अचार खानेहरू बढी बिरामी परेका छन्। स्वास्थ्य कार्यालय र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।


