काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नेतृत्वमा ताप्लेजुङस्थित माथिल्लो मेवा खोला जलविद्युत् आयोजना निर्माणको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको छ।
सौर्य होल्डिङ प्रा.लि. प्रवद्र्धक रहेको उक्त आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्व र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्ने भएको हो।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा भएको उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेस अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेस अफिसर मनिशराज कुँवर, र सौर्य होल्डिङ प्रा.लि.का प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरे ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रेग्मीले आयोजना समयमै सम्पन्न भई देशको ऊर्जा उत्पादन वृद्धि हुने र निर्यात प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।
३१.९२ मेगावाट क्षमताको माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। सम्झौता अनुसार आयोजनामा ७५ प्रतिशत लगानी कन्सोर्टियममार्फत बैंकहरूले गर्नेछन् भने बाँकी २५ प्रतिशत सौर्य होल्डिङले हकप्रद सेयरमार्फत जुटाउनेछ। आयोजना आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको छ।
ग्लोबल आइएमई बैंकले हालै ‘ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४’ र ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत नेपालकै सर्वश्रेष्ठ बैंकको रूपमा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ।
साथै, देशका सबै ७७ जिल्लामा सेवा पुर्याउँदै आएको ग्लोबल आइएमई बैंकको ३५२ शाखा, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर, ३ राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार भन्दा बढी सेवा केन्द्र रहेका छन्।
बैंकले विश्वका विभिन्न मुलुकहरू अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन आदिबाट रेमिट्यान्स भित्र्याउने सेवा पनि प्रदान गर्दै आएको छ।


