काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण देखिएका देशबाट आएका नेपालीमा एमपक्सको लक्षण देखिएको बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. पुनले मध्यपूर्वी देशमा सबैभन्दा धेरै नेपाली रहेको र दैनिक हजारौं मानिस आवतजावत गर्ने हुनाले जोखिम पनि धेरै नै रहेको बताएका हुन्।
डा. पुनले भने, ‘एमपक्स जो विरामीमा पुष्टि भयो, उहाँहरुमा पनि जहाँ काम गर्नुहुन्छ झण्डै झण्डै ८० प्रतिशत नेपालीहरु नै छ । कतिपयमा मिल्दोजुल्दो लक्षणहरु देखिएको छ भन्ने कुरा पनि छ । यसले गर्दा जोखिमको कुरा गरिरहँदा भारतको खुला सीमाना र आवतजावत धेरै हुन्छ भनिरहँदा हामीलाई यो पनि थाहा छ कि नेपालमा अहिले विदेश जाने र त्यसमा पनि मध्यपूर्वी देशमा सबैभन्दा धेरै जाने हुनाले, दैनिक हजारौं मानिस आवतजावत गर्ने कारणले एउटा जोखिम चाहिँ छ । तसर्थ हामीले जहाँबाट संक्रमण आइरहेको भन्ने थाहा छ त्यतातिर उहाँहरु आइसकेपछि कमसेकम लक्षणहरु मिल्यो भने तपाईहरुले विशेषगरी विशेषज्ञसँग सल्लाह लिनुस् भन्ने सुझाव दिन्छु । '
संक्रमण देखिइरहेका देशबाट आएपछि केही दिन परिवारसँग अलग बस्न आग्रह गर्दै डा. पुनले विशेषज्ञसँग परमामर्श लिन पनि सुझाव दिए। आलश्य हुने, खान मन नलाग्ने र ज्वरो आएमा पक्कैपनि एमपक्स होला भनेर केही समय अलग बस्न उनको सुझाव छ ।
उनले थपे- 'पक्कैपनि यहाँनेर के गर्ने भन्ने प्रश्न आउँछ तपाईहरु यदि संक्रमण देखिइरहेको देशहरुबाट आउनुभएको छ भने यहाँ आइसकेपछि सकेसम्म अलिकति अलग बस्दा राम्रो । तर, यदि केहीगरी त्यो पनि भएन भने लक्षण अलि मिल्दोजुल्दो देखियो । शरीरमा आलश्य, खान मन नलाग्ने र ज्वरो आएको छ भने पक्कैपनि सम्भावना एमपक्स होला भनेर अलि अलग बसेर परिवारका सदस्यहरुलाई जोखिममा पर्नबाट आफैं जोगाउन सक्नुहुन्छ । अहिले पछिल्लो समयमा कोभिड फेरि सक्रिय भएको छ । पक्कैपनि यो त्यति राम्रो त होइन । प्यान्डामिक सकियो भनिरहेपनि यो हामीहरुकै साथमा रहेको छ । यो हराएको देखिएको छैन, बेला बेलामा हामीले तथ्यांकलाई आधार मान्ने हो भने सानोतिनो देखिन्छ संक्रमण ।’
पछिल्लो समय कोभिड सक्रिय हुनु त्यति राम्रो नभएपनि प्यान्डामिक सकियो भनिरहँदा यो अझैपनि हामीहरुकै साथमा रहेको र नहराएको उनले स्पष्ट पारे । —न्युज एजेन्सी नेपाल पिंजडा


