काठमाडौं । चिसो अनि स्वच्छ हावापानी र हिमश्रृंखलाको अनुपम दृश्यले प्रख्यात दामन–पालुङ क्षेत्रको पर्यटन फेरि तङ्ग्रिँदै गएको छ। हेटौंडा–काठमाडौं जोड्ने प्रमुख राजमार्गको छेउमा पर्ने यो क्षेत्र पछिल्ला केही वर्ष कोरोनाको महामारी, वैकल्पिक सडक मार्गको प्रयोग र अन्य विविध कारणले गर्दा पर्यटक आगमनमा कमी आएको थियो।
तर पछिल्ला समय भने दामन–पालुङ क्षेत्र पुनः पर्यटकको रोजाइमा पर्न थालेको छ। विशेषगरी गर्मी महिनामा यहाँको चिसो मौसम र प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गरिरहेको छ। हिमश्रृंखलाको मनोरम दृश्य हेर्न,अर्गानिक खानाको स्वाद लिन तथा शुद्ध र चिसो हावा महसुस गर्न देश तथा विदेशका विभिन्न भागबाट पर्यटक यहाँ आइपुग्ने गरेका छन्।
नेपालका तराई भू–भागमा गर्मी अत्यधिक हुने हुँदा चिसो वातावरण खोज्दै धेरैजसो आन्तरिक पर्यटक र छिमेकी देश भारतबाट समेत उल्लेख्य संख्यामा आगन्तुकहरू आउने गरेका छन्। पर्यटकहरू विशेषगरी गर्मी छल्न, शान्त वातावरणमा बस्न र हिमालका दृश्य अवलोकन गर्न यहाँ आउने गर्दछन्।
यस्तै, जाडो महिनामा दामन र वरपरका क्षेत्रमा बाक्लो हिउँ पर्ने भएकाले हिउँ खेल्न चाहने आन्तरिक तथा विदेशी पर्यटकको चाप अझ बढी हुने गर्दछ। साथै दामन क्षेत्र धार्मिक महत्वले पनि उत्तिकै महत्व बोकेको क्षत्र हो। दामनमा रहेको ऋृखेश्वर महादेव मन्दिरमा श्रावन महिनामा विशेष मेला लाग्दै आइरहेको छ।
साथै एकादशी फागुपूर्णिमा लगायतका पर्वहरूमा यस मन्दिरमा धार्मिक पर्यटकहरूको उल्लेख्य आवागमन हुने गरेको थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्रीले बताए। वर्षमा ७—८ हजार पर्यटक दामन क्षत्रमा आउने गरेको उनले बताए। स्थानीय सरकारसँगको समन्वयमा उक्त क्षेत्रका व्यवसायीहरूले दामन पालङमा हिँउ खेल्नको लागि स्केटिङ पार्क तथा अन्य संरचनाहरूलाई व्यवस्थित ढंगमा अगाडि बढाएर पर्यटनको विकासमा लागेको उनको भनाइ छ।
विगतका वर्षहरूमा पर्यटकको खचाखच आगमन हुने गरेको र पछिल्ला वर्षहरूमा सुकेको पर्यटन फेरि फष्टाउन थालेको अनुभव गरेको दामन घुम्न आएका पर्यटक बताउँछन्। दामन पालुङ क्षेत्रमा रहेका एतिहाँसिक संरचनाहरुलाई सरकार र स्थानीय निकायहरुले ध्यान पु¥याउन नसक्दा र प्रचार गर्न नसक्दा यहाँको पर्यटन जुन गतिमा मौलाउन पर्ने हो त्यो गति लिन नसकेको मकवानपुर मनहरी घर भएका पर्यटक शिवकुमार रिजाल बताउँछन्।
स्थानीय व्यवसायीहरू पनि पर्यटक आगमन पुनः बढ्न थालेसँगै उत्साहित भएका छन्। होटल, होमस्टे तथा कृषि–पर्यटनसँग जोडिएका व्यवसायमा पुनः गति आउन थालेको उनीहरुको भनाइ छ।
अर्कोतर्फ दामन–पालुङ क्षेत्र तरकारी उत्पादनमा देशकै एक प्रमुख स्रोतको रूपमा स्थापित हुँदै आएको छ। दैनिक झन्डै ५० टन तरकारी उत्पादन हुने यस क्षेत्रबाट काठमाडौं, हेटौंडा, ललितपुर, भक्तपुर लगायतका सहरहरूमा नियमित रूपमा तरकारी आपूर्ति गरिँदै आएको छ।
यहाँको उब्जनीले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नुका साथै कृषि पर्यटनको सम्भावना पनि बढाएको छ।-न्युज एजेन्सी नेपाल


