काठमाडौं । चितवन राइनोजलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो ‘क्वालिफायर’मा प्रवेश गरेको छ । चितवनको हारसँगै विराटनगर किंग्सको पनि ‘प्लेअफ’मा स्थान सुरक्षित भएको छ।
अपराजित यात्रा कायमै राख्ने क्रममा सुदुरपश्चिमले आज छैटौं जित हासिल गर्यो । कीर्तिपुरमा चितवनलाई ४९ रनले हराउँदै सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा पुग्यो । अपराजित सुदूरपश्चिम १२ अंकसहित अंक तालिकाको शीर्षस्थानमा छ।
यो नतिजासँगै अन्तिम चारमा पुग्ने तेस्रो टोलीका रुपमा विराटनगरले किंग्सले स्थान सुरक्षित गर्यो । सुदूरपश्चिम यसअघि नै अन्तिम चारमा पुगेको थियो भने काठमाडौँ गोर्खाज बिहीबार दिउँसो भएको खेलमा पोखरालाई हराउँदै अन्तिम चारमा पुगेको हो। काठमाडौँ लिग चरणका सातमध्ये पाँच खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै १० अंकसहित दोस्रो स्थानमा छ । विराटनगर एक खेल बाँकी छँदा ८ अंकसहित तेस्रो स्थानमा छ ।
विराटनगर लिग चरणका ६ मध्ये दुई खेलमा हार र चार खेलमा जितसहित आठ अंक बटुलेर तेस्रो स्थानमा छ।
अब अन्तिम चारको एक स्थानका लागि चार टोली लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्टस् र चितवन राइनोज प्रतिस्पर्धामा छन्। शुक्रबार जनकपुरसँग हुने लिग चरणको आफ्नो अन्तिम खेल जितेमा लुम्बिनी आठ अंकसहित ‘प्लेअफ’मा पुग्नेछ भने अन्य तीन टोलीको यात्रा टुंगिनेछ।
शुक्रबारको खेल जनकपुरले जितेमा भने ‘प्लेअफ’को प्रतिस्पर्धा थप रोचक बन्नेछ। समान ६ खेल खेलेको लुम्बिनीको ६ अंक छ भने पोखराको चार अंक छ। चितवनकाे पनि चार अंक छ ।
त्यस्तै, पाँच खेल खेलेको जनकपुरको दुई अंक मात्रै छ। जनकपुरले अर्को खेलमा शुक्रबार लुम्बिनीसँग र अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ। अहिलेसम्म कर्णालीमा प्लेअफको दौडबाट बाहिरिएको छ।
सुदूरपश्चिमसँग चितवन १९ रनले पराजित
बिहीबार सुदूरपश्चिमले दिएको एक सय १७० रनको लक्ष्य पछ्याउने क्रममा चितवन १२० रनमै सीमित भयो । । चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाए। उनले २३ बलमा एक चौका र दुई छक्का हाने ।
त्यस्तै, देव खनालले २८, अर्जुन साउदले १६ र कुशल मल्लले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
सुदूरपश्चिमका लागि पुनित मेहराले दुई, दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले एक–एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले चार विकेटको क्षतिमा एक सय ६९ रन बनाएको थियो।
उसका लागि ओपनिङ ब्याटर क्रिस लिनले ७५ रन जोडे। १७औं ओभरको समाप्तिमा रिटायर्ड हट भएका लिनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
अर्का ओपनर विनोद भण्डारी २१ रनमा आउट भए। यस्तै इशान पाण्डे र हर्मित सिंह १–१ रन बनाएर पेभिलियन फर्के।
एनपिएल डेब्यू गरेका पुनित मेहराले १३ रन बनाए। मेहरा र पाण्डेलाई चितवनका सइफ जइबले क्याच गराउँदा डेब्यू इंग्लिस बलर जर्ज स्कृमशले हर्मितलाई आउट गरे। अन्त्यमा कप्तान दीपेन्द्रसिंह ऐरीले १४ बलमा नटआउट २४ रन र आरिफ शेखले १६ बलमा नटआउट २४ रन बनाए।
बलिङमा चितवनका जइबले २ विकेट लिए भने रञ्जित कुमार स्कृमशले १–१ विकेट हात पारे।
शुक्रबार जनकपुर बोल्टस् र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल अपराह्न ४ बजे सुरु हुनेछ।


