दीपेन्द्र कुँवर-
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजन लुम्बिनी लायन्स सबैभन्दा पुछारमा रहेको थियो । गत सिजन उसले एउटा मात्रै खेल जितेको थियो ।
लुम्बिनी लायन्सलाई दोस्रो सिजन पनि उपाधिको दाबेदार मानिएको थिएन । र, लिग अघि बढ्दै जाँदा लुम्बिनी उपाधिको दाबेदार देखिएन पनि किनकी चितवन राईनोजलाई हराउँदै लिगमा शानदार शुरु गरेको लुम्बिनी त्यसपछि लगातार पराजित भयो । उसले लगातार तीन खेलमा पराजय बेहोर्यो । लिगमा चार खेल खेलिसक्दा लुम्बिनीको प्लेअफ यात्रा नै संकटमा पर्ने अवस्था आयो र लिग चरणबाटै बाहिरिने डिलसम्म टिम पुग्यो ।
स्थिति यहाँसम्म आईपुग्यो कि लुम्बिनीका मालिक ईश्वर जीसीले सामाजिक सञ्जालमै टिमको प्रदर्शनप्रति असन्तुष्टि व्यक्त गरे । हारपछि प्लेअफ दौडबाट बाहिरिने संघारमा पुग्दा जिसीले सामाजिक सञ्जालमै फ्रस्टेसन पोख्दै लेखे ‘इज इट नट इनफ नाउ ! ’
लगातार हार बेहोर्दा लुम्बिनीको समर्थकबाट चर्को आलोचनासमेत भयो । समर्थकहरुले लुम्बिनीले 'पुरानै लय समात्यो' अर्थात गतवर्ष जस्तै लिग चरणबाटै आउट हुने भयो भन्ने टिप्पणी गरे ।
लुम्बिनीको कप्तानी गरिरहेका राष्ट्रिय टोलीका कप्तान रोहित पौडेललाई कप्तानबाट हटाउनु पर्ने आवाज उठ्यो । उनको प्रदर्शनामाथि पनि टिप्पणी गर्दै टुकटुके भनियो । लगातार तेस्रो हारपछि हरेक खेल ‘गर या मर’ को अवस्थामा पुगेको लुम्बिनीका कप्तान पौडेल भने टिमले कम ब्याक गर्छ भन्नेमा आशावादी देखिए र उनले यस्तो प्रतिक्रिया पनि दिए । अर्को एक हारले लुम्बिनी प्रतियोगिताबाट बाहिरिन्थ्यो ।
तर पाँचौँ खेलमा पोखरा एभेन्जर्सलाई हराएपछि लुम्बिनीले पछि फर्केर हेर्नुपरेन । त्यसपछिका ६ खेलमा अपराजित रहँदै लुम्बिनीले दोस्रो सिजनको एनपीएलको उपाधि चुम्या, जुन आफैंमा अविश्सनीय जस्तै थियो । पोखरालाई हराएपछि उसले जितको लय समात्यो ।
यस क्रममा लुम्बिनीले लिगमा पोखरा एभेन्जर्स, विराटनगर किंग्स र साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै लिग चरणमा चौथो भएर प्लेअफ पुग्यो ।
सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सपछि प्लेअफमा छनोट हुने लुम्बिनी चौथो टोली थियो । लिगमा चौथो भएर प्लेअफ पुगेको लुम्बिनीका लागि फाइनलसम्म पुग्दै उपाधि जित्नु सामान्य कुरा थिएन । किनकी लिग चरणमा लगातार तीन खेल हारेपछि थप एक हारले उसको यात्रा टुंगिन्थ्यो भने प्ले अफमा पनि एलिमिनेटर खेल्नु पर्ने भएकोले त्यो हारले उसको यात्रा सकिन्थ्यो । उपाधि जित्न तीन र फाईनल खेल्न उसले दुई खेल जित्नुपर्ने थियो । त्यसैले यो सहज थिएन । तर लुम्बिनीले आफ्नो लय यसरी कायम राख्यो कि सबै अवरोध ढाल्दै गयो । उसले एलिमिनेटरका काठमाण्डौ गोर्खाज अहिले क्वालिफायरमा विराटनगरलाई हराएर पहिलो पटक फाईनल यात्रा तय गर्यो । एलिमिनेटरमा काठमाण्डौलाई लुम्बिनीले १११ रनमा अलआउट गरेको थियो । क्वालिफायर टु मा बलियो ब्याटिङ लाइनअप भएको विराटनगरलाई लुम्बिनीले ९४ रनमै अलआउट गरिदियो । यो खेलमा लुम्बिनीले १३४ रन स्कोर डिफेण्ड गरेको थियो । यसरी पहिलो पटक फाईनल पुगेको लुम्बिनीले उपाधिनै कब्जा गर्यो ।
फाईनलमा लुम्बिनीको 'डोमिनेशन'
फाइनलसम्म पुग्दा लुम्बिनीले लो स्कोरको म्याचमात्रै खेलिरहेको थियो । उसले खासै आहा भन्ने खेल देखाएको थिएन, भलै उसले जित हासिलनै गरिरहेको थियो । तर फाईनल जस्तो भयो, त्यो अकल्पनीयनै थियो । लुम्बिनीका कप्तान रोहित पौडेल आफैले यसलाई नसोेचेको र अविश्वसनीय भनेका छन् । फाईनलमा उसले सुदूरपश्चिमलाई ८५ रनमा नै अलआउट ग¥यो। सुदूरपश्चिमलाई लगातार दोस्रो पटक उपाधि दाबेदार टोलीको रुपमा हेरिएको थियो। तर सुदूरपश्चिमले एनपीएलको फाइनलमा सबैभन्दा खराब प्रर्दशन ग¥यो। कप्तान रोहित पौडेलको ह्याट्रिक विकेट अनि रुबेन ट्रम्पलम्यान र शेर मल्लको घातक बलिङले सुदूर धराशायी भयो । बलिङमा मात्रै होईन, लुम्बिनीले ब्याटिङमा पनि डोमिनेट गरेर खेल्यो । झिनो लक्ष्य पछ्याएको लुम्बिनी शुरुदेखिनै आक्रामक देखियो । उसले पहिलो ओभरमै २७ रन ठोक्यो । दिनेश अधिकारीले दीपेन्द्रसिंह ऐरीलाई पहिलो ओभरमा ४ छक्का हाने । लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर खेल जित्तै उपाधि कब्जा गर्यो ।


