काठमाडौं । नबिल बैंकको अध्यक्षमा निर्वाण कुमार चौधरी चयन भएका छन्। बैंकको ६९९औँ सञ्चालक समिति बैठकले चौधरीलाई अध्यक्षमा चयन गरेको हो।
निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले दुई कार्यकाल पूरा गरेपछि अध्यक्ष पद रिक्त थियो। सोही रिक्त पदमा चौधरी चयन भएका हुन्। नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहण गरेपछि उनले अध्यक्षको कार्यभार सम्हाल्नेछन्।
बैंकको ४१औँ वार्षिक साधारणसभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिको सदस्यमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ।
वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ। सोमबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो।
चालु आर्थिक वर्ष २०८२÷८३ मा बैंकले ५ अर्ब रुपैयाँ (प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ५ करोड कित्ता) बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नयाँ पुँजी उपकरण जारी गरेको छ। उक्त उपकरण जारी भएपछि अतिरिक्त प्राथमिक पुँजीमार्फत पुँजीगत आधार सुदृढ हुने, बैंकको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैंकको दाबी छ।
हाल नबिल बैंकले देशभर २६८ शाखा सञ्जाल तथा ३२१ एटिएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ।


