मुम्बई । सन् २०१४ मा पहिलो पटक टि २० विश्वकप खेलेको नेपालले दोस्रो विश्वकप खेल्न १० वर्ष कुर्नुपर्यो । सन् २०२४ मा अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप नेपालले खेल्यो ।
तर नेपालले आफ्नो तेस्रो विश्वकप (२०२६) भने आईसीसीको नियमित 'सेड्यूल'मै रहेर खेल्दैछ । नेपाली टोलीले आफ्नो पहिलो खेलमै आज आईतवार हेभीवेट टोली इंग्ल्यान्डकाे सामना गर्दैछ ।
इंग्ल्यान्डपछि नेपालले इटली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग खेल्नेछ । सबै खेलहरू मुम्बईस्थित वानेखेडे स्टेडियममै हुँदैछन् ।
सुपर–८ को लक्ष्य
यसअघिका दुई विश्वकपमा समूह चरण पार गर्न नसकेको नेपाली टोली यसपटक भने सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । त्यसका लागि नेपालले समूह चरणका चारमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ ।
यसअघि नेपालले दुई विश्वकप खेलेको छ, तर दुवै विश्वकपमा समूह चरण पार गर्न सकेन । यस पटक विगतभन्दा एक खुड्किलो अघि बढ्ने नेपालको अठोट छ ।
विश्वकप सुरु हुनुअघिकाे प्रि–म्याच कन्फरेन्समा नेपाली कप्तान रोहित पौडेलले विगत विश्वकप भन्दा राम्रो गर्न नेपाली टोली भारत र श्रीलंका पुगेको बताए ।
‘हाम्रो लागि यो विश्वकप एकदमै खास छ । किनभने हामीले लगातार दोस्रो पटक विश्वकप खेल्दै छौँ,’ उनले भने, ‘हामीले अन्य विश्वकपभन्दा यो विश्वकपमा फरक नतिजा ल्याउने लक्ष्य लिएका छौँ ।’
सुपर–८ मा पुग्न नेपालले आफ्नो समूहमा रहेका दुई टेस्ट टोली इंग्ल्यान्ड र वेस्ट इन्डिजमध्ये कम्तीमा एकलाई हराउन सक्नुपर्ने छ । यस्तै स्कटल्यान्ड र इटालीमाथि पनि जित निकाल्दा मात्रै नेपाल सुपर–८ को दाबेदार बन्न सक्ने अवस्था छ ।
नेपालले सन् २०१४ मा पहिलो विश्वकपमा डेब्यू गर्दा समूह चरणको खेलमा राम्रो प्रदर्शन गरेर शीर्ष ८ को सम्भावना बनाएको थियो । तर, बांग्लादेशसँग नेटरनरेटमा पछि पर्दै निराश हुनुपरेको थियो ।
त्यसको एक दशकपछि सन् २०२४ मा विश्वकपमा प्रवेश गर्दा बंगलादेश र दक्षिण अफ्रिकाजस्ता टेस्ट राष्ट्रलाई दरिलो चुनौती दियो तर जित निकाल्न नसक्दा समूह चरणबाटै बाहिरिनुपरेको थियो । दुवै हारमा नेपालको अनुभवको कमी देखिएको थियो, किनकी दुवै खेलमा नेपाल जित नजिक पुगेर पनि पराजित भयो । दुवै खेलमा ' बिग स्टेज' मा 'प्रेसर ह्याण्डल' गर्न नसक्दा नेपाल पराजित भएको थियो, जबकि हारिसकेको म्याचलाई दक्षिण अफ्रिका र बंगलादेशले अनुभवकै कारण 'प्रेस ह्याण्डल' गर्न सक्दा आफ्नो पोल्टामा पारेका थिए ।
तर यसपटक फरक हुने कप्तान रोहित पौडेलको विश्वास छ । सुपर ८ मा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने उनी बताउँछन् । बिहीबार आयोजित क्याप्टेन्स मिटमा रोहितले टेस्ट राष्ट्रलाई हराइसकेको र अब फेरि हराउन सक्षम रहेको प्रतिक्रिया दिए ।
‘हामीले यसअघि पनि टेस्ट राष्ट्रलाई हराइसकेका छौं । अब विश्वकपमा पनि सोही नतिजा दोहोर्याउने लक्ष्य राखेका छौं । तयारी पनि राम्रो भएको छ, सबैजना उत्साहित पनि छन् । सुपर ८ मा पुग्न सक्छौं भन्ने कन्फिडेन्स छ’ रोहितले भने ।
विश्वकप खेल्ने नेपाली टोलीः
रोहितकुमार पौडेल (कप्तान), (उपकप्तान) दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सन्दीप जोरा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, कुशल भुर्तेल,गुल्शन झा,शेर मल्ल बसिर अहमद, लोकेश बम, आरिफ शेख र नन्दन यादव ।


