काठमाडौं । नेपालले लगातार दोस्रोपटक रोहितको कप्तानीमा टी–२० विश्वकप क्रिकेट खेल्दैछ । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा पनि नेपालले रोहितकै कप्तानीमा खेलेको थियो । त्यतिबेला दुई बलिया टिम दक्षिण अफ्रिका र बंगलादेशसँग जित नजिक पुगेर पनि नेपाल पराजित भएको थियो । दक्षिण अफ्रिकासँग एक रनले नेपाल हार्दा दक्षिण अफ्रिकाको जित भन्दा संसारभर नेपालको हारको चर्चा भएको थियो । र, त्यो टिमलाई नेतृत्व रोहितले गरेका थिए । अहिले फेरि उनलेनै विश्वकपमा टिमको नेतृत्व गरेका छन् ।
रोहितको कप्तानीमा रहेको टिममा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सन्दीप जोरा, आरिफ शेख, सोमपाल कामी, करण केसी र नन्दन यादव छन् । यसैगरी, आसिफ शेख, लोकेश बम, सन्दीप लामिछाने, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी र शेर मल्ल पनि टिममा छन् ।
लगातार तेस्रोपटक विश्वकप खेल्ने सोमपाल एक्लो खेलाडी
फास्ट बलर सोमपाल कामी नेपाली टिमका सबैभन्दा अनुभवी खेलाडी पनि हुन् । उनी लगातार तेस्रोपटक विश्वकप खेल्ने नेपालका एक मात्र क्रिकेटर हुन् । कामीले नेपालले खेलेका तीनवटै विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन् । इंग्ल्यान्डविरुद्ध मैदान उत्रिँदा सोमपाल नेपालले खेलेका तीन विश्वकपमा खेल्ने एक मात्र खेलाडी बनेर कीर्तिमान बनाउनेछन् ।
सोमपालले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा नेपालबाट खेलेका थिए । त्यसपछि नेपालले १० वर्षपछि सन् २०२४ मा विश्वकप खेलेको थियो । सन् २०१४ मा बंगलादेश र सन् २०२४ मा अमेरिका तथा वेस्ट इन्डिजमा विश्वकप खेल्दा नेपालले खेलेका सोमपाल भारत र श्रीलंकामा सुरु भएको विश्वकपमा पनि खेल्दैछन् ।


