मुम्बई । दुई वर्ष अघि नेपाल टि २० विश्वकपमा नेपाल टेस्ट टोली दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भयो । बिग स्टेजमा ऐतिहासिक जितनजिक पुगेर नेपाल चुक्यो, त्यो खेल नेपालले दक्षिण अफ्रिकालाई सुम्पियो । विश्वको ध्यान खिचेको त्यो हारको पीडा अहिले पनि ताजै छ र प्रविधिको यो जमानामा खोजेर हेर्ने हो भने भिडियो र फोटोहरुले अहिले पनि मन थाम्न गाह्रो हुन्छ ।
नेपाली टिम र नेपाली जनताको हकमा दुई वर्षपछि फेरि त्यही स्थिति दोहोरिएको छ । टी–२० विश्वकप २०२६ मा नेपाल फेरि एकपटक जितको नजिक पुगेर पराजित भयो । यसपटक पनि नेपालले मुठ्ठीमा भएको खेल क्रिकेटको जननी इंग्ल्याण्डलाई सुम्पिदियो । दक्षिण अफ्रिकासँग नेपालले लो स्कोर म्याच हारेको थियो, भने यसपटक बलियो स्कोरमा फाईट गर्दागर्दै असफल भयो ।
आईतवार मुम्बईको वानखेडे स्टेडियममा नेपालले जितका लागि १ सय ८५ रनको लक्ष्य प्छयाएको थियो । अन्तिम ओभरमा नेपाललाई १० रन चाहिएको थियो । तर पाँच रनमात्रै लिन सक्यो । अन्तिम बलमा नेपालले छक्का हानेको भए जित्न सक्थ्यो, तर एक रनमात्रै बटुल्न सक्यो । नतिजा जित नजिक पुगेको नेपाल हार्यो भने हारको संघारमा उभिएको इंग्ल्याण्ड विजयी भयो । नेपालको ब्याटिङ भने शानदार नै थियो । ईंग्ल्यान्डका दुई प्रमुख बलरहरु जोफ्रा आर्चर र अदिल रसिदलाई नेपाली ब्याटरहरुले अनपेक्षितरुपमा सहजै खेले र अर्को शब्दमा कडा धुलाइ गरे भन्न सकिन्छ । । एक विकेट लिएका आर्चरले ४ ओभरमा ४२ रन खर्चिए । यस्तै, ईंग्ल्यान्डमा मुख्य स्पिनर आदिल रसिदले ३ ओभरमै ४२ रन खाए ।
नेपालका लागि सबैभन्दा ठूला ‘थ्रेट’ हुनसक्ने ठानिएका आर्चरलाई कुशल भुर्तेलले दोस्रो ओभरमा तीनवटा चौका हिर्काए । लोकेश बम, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले ठूला नामको अगाडि आफ्नो साहस देखाए । सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले राम्रो बलिंग गरे । समग्रमा नेपालले राम्रो खेल्यो ।
केही रणनीतिक चुक हरु भए, त्यो नेपाली टिमले समीक्षा गर्ला र सिक्ला पनि । तर पनि खेल अदभूत रह्यो । हुन पनि हारका बाबजुद नेपालले इंग्ल्यान्डलाई आच्छु आच्छु पार्यो अन्तिम बलसम्म फाइट गर्यो र १ सय ८० रन बनायो । अन्तिम बलसम्म पनि इंग्ल्याण्ड तनाबमा थियो, किनकी परिणाम जे पनि हुन सक्थ्यो ।
फेरि पनि क्रिकेटको जननी टोलीविरुद्ध नेपालले गरेको बहादुरीपूर्ण प्रदर्शनको चर्चा अहिले विश्वभर भैरहेको छ । इंग्ल्याण्डको जितको भन्दा नेपालको हारको चर्चा छ । 'इंग्ल्याण्ड जोगियो, नेपालले बहादुरी देखायो' भनेर अहिले विश्वभर चर्चा छ ।
आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको रोमाञ्चक खेलपछि सामाजिक सञ्जालमा ठूलाे चर्चा छ। नेपालको साहसिक प्रदर्शनको चर्चा गर्दै विश्वभरका प्रतिष्ठित क्रिकेटरले आफ्नो धारणा व्यक्त गरेका छन् ।
दक्षिण अफ्रिकाका महान खेलाडी डेल स्टेनले त नेपालले चाहेमा आफू नेपाली क्रिकेटको सेवा गर्न तयार रहेको बताएका छन् ।
स्टेनले भने, ‘नेपाल, यदि कहिल्यै मेरो सेवा आवश्यक परे म तयार छु। माथि र अझै माथि पुग्नुस्।’
त्यस्तै, भारतीय क्रिकेटर युवराज सिंहले नेपाललाई ठूलो सम्मान रहेको बताएका छन् । ‘नेपाललाई ठूलो सम्मान छ,’ उनले अगाडि लेखेका छन, ‘विश्वका उत्कृष्ट टोलीमध्ये एकसँग प्रतिस्पर्धा गर्दै अन्तिम बलसम्म संघर्ष गर्यो र आत्मविश्वास तथा जोशले के गर्न सक्छ भन्ने गरेर देखायो। यसरी नै टोलीहरू अघि बढ्छन् र यसरी नै च्याम्पियनहरू जन्मिन्छन्। क्रिकेट जगत तपाईंहरूलाई हेरिरहेको छ!’
त्यस्तै, इरफान पठानले इंग्ल्यान्डलाई दबाबमा पारेको देख्दा खुसी लागेको बताए। उनले भने, ‘अन्तिम चरणको प्रदर्शन केही कम रह्यो, तर नेपाल स्पष्ट रूपमा सही बाटोमा अघि बढिरहेको छ। इंग्ल्यान्डलाई दबाबमा पार्न सफल भएको देख्दा राम्रो लाग्यो।’
चर्चित कमेन्टेटर एवम् इंग्ल्याण्डका पूर्वकप्तान माइकल भनले नेपालले शानदार क्रिकेट खेलेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन, ‘कति शानदार क्रिकेट खेल ! नेपालका खेलाडीहरूले देखाएको शैली उत्कृष्ट थियो। तर, जित भनेको जित नै हो। इंग्ल्यान्डलाई बधाई।’
त्यस्तै, अर्का भारतीय कमेन्टेटर आकाश चोपडाले नेपाल नजिक पुगेर फेरि चुकेको टिप्पणी गरेका छन् । उनले भने, ‘धेरै नजिक पुगेर पनि लक्ष्य टाढा रह्यो। राम्रो खेल्यौ, राम्रो संघर्ष गर्यौ , नेपाल ।’
त्यस्तै, भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले नेपालले उत्कृष्ट प्रदर्शन गरेको बताए। उनले भनेका छन ‘नेपालबाट उत्कृष्ट प्रदर्शन। उदीयमान क्रिकेट राष्ट्रहरूमा नेपाल पक्कै पनि उत्कृष्टमध्ये एक हो। अपार सम्भावना र उज्ज्वल भविष्य देखिन्छ।’
क्रिकेटरले मात्र होईन, आईपीएल फ्रेञ्चाईटिमले पनि नेपाली टिमको प्रदर्शन र बहादुरीको प्रशंसा गरेका छन् ।
मुम्बई इन्डियन्स लेख्छः वानखेडे रंगशाला इतिहासको एउटा साक्षी बन्यो । टी–२० विश्वकपको एउटा क्लासिक खेल वानखेडेमै भयो । नेपालले इंग्ल्यान्डलाई चुनौती दियो, तर चार रनले पछाडि पर्यो ।'
कोलकाता नाईट राईडर्सले नेपालले इंग्ल्याण्डलाई टक्कर दिएपछि एसियामा नयाँ जायन्ट आएको महशुस भएको प्रतिक्रिया दिएको छ ।
कोलकत्ता नाइट राइडर्स भन्छः हात उठाइराख्नुपर्छ । यो टी– २० आईकै क्लोज खेलमध्ये एक हो । अब एसियामा नयाँ जायन्ट राष्ट्र आएको महसुस भएको छ ।'
रोयल च्यालेन्जर्स बेंग्लोरले नेपालले विश्वस्तरीय खेलेको प्रतिक्रिया जनाएको छ । 'नेपाली खेलाडीलाई आज कुनै डर थिएन । उनीहरू पूरै जोसका साथ खेले । उनीहरूलाई विश्वास थियो, यो विश्वस्तरीय प्रतियोगितामा केही गर्ने । क्रिकेटप्रति नेपाली खेलाडी र समर्थकको लगाबप्रति हामी सम्मान गर्छौं ।' बेंग्लोरले लेखेकाे छ ।
।

गुजरात टाईटन्सले 'विश्वकपजस्तो ठुलो स्टेजमा नेपाली खेलाडीको साहस र संयमित प्रदर्शनको प्रशंसा गर्नुपर्छ ।' भनेर लेखेको छ ।
चेन्नई सुपर किंग्सले नेपाली टिमले धैर्य र साहस दुवै देखाएको बताएको छ । सामाजिक सञ्जालमा चेन्नईले भनेको छ, लडाइँ अन्तिम बल नफ्याँक्दासम्म चलिरह्यो । त्यो समयमा सबै समर्थक पनि धैर्यका साथ बसे । नेपालको बहादुर प्रदर्शन ।'
राजस्थान रोयल्सले यस्तो क्लोज गेम हार्दा खेलाडिको मनोदशा कस्तो हुन्छ भनेर समेत उल्लेख गर्दै प्रशंसा गरेको छ । राजस्थान रोयल्सले भनेकाे छ नतिजा स्वीकार गर्नुपर्छ । अन्तिम बलसम्म जितका लागि प्रयास चलिरह्यो । त्यहाँसम्म पुग्दा खेलाडीले हारलाई सहज स्वीकार गर्न सक्दैनन् । तर, नेपाल क्रिकेटले साहसिक प्रदर्शन गरेको छ ।'
लखनउ सुपर जायन्टसले 'टी – २० विश्वकपकै सबैभन्दा उत्साहजनक प्रदर्शन नेपालको ।' लेखेको छ । पञ्जाब किंग्सले 'नेपालको प्रदर्शन साहसिक हो ।' भनेर मूल्यांकन गरेको छ ।



