२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

हामीलाई प्रशंसा मात्रै होईन, टेस्ट मुलुकसँग खेल्ने मौका चाहियो : राेहित पौडेल

हामीलाई प्रशंसा मात्रै होईन, टेस्ट मुलुकसँग खेल्ने मौका चाहियो : राेहित पौडेल

बुधबार, माघ २८ २०८२
  • images
    images
    हामीलाई प्रशंसा मात्रै होईन, टेस्ट मुलुकसँग खेल्ने मौका चाहियो : राेहित पौडेल

    काठमाडौं । नेपालले टि २० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल टेस्ट टिम इङ्ल्यान्डसँग चार रनको झिनो अन्तरले पराजित भयो । १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले १ सय ८० रन बनायो, जुन धेरैका लागि अनपेक्षित थियो ।


    images

    तर इङ्ल्यान्डलाई नेपालले आच्छु आच्छु बनायो । जित इङ्ल्यान्डको भए पनि चर्चा पराजय बेहोरेको नेपालको भयो । आईपीएलका फ्रेञ्चाईज टोलीदेखि विश्वका दिग्गज क्रिकेटरले नेपालको खेलको प्रशंसा गरे । उनीहरुले भने नेपालले बहादुरीपूर्वक खेल्यो । 

    तर सन् २०२४ मा आफ्नो दोस्रो विश्वकप खेलेको नेपालले त्यसपछि कति मौका पायो त भन्ने कुरा हेर्ने हो भने स्थिति राम्रो छैन ।  सन् २०२४ को वेस्ट इन्डिजमा भएको समूह चरणको खेलमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग खेलको थियो । तर त्यसपछि नेपालले टेस्ट नेशनसँग खेल्न पाएन्, जुन कुराले नेपालका कप्तान रोहित पौडेललाई निकै घाेचिरहेकाे छ । 

    'नेपालले बहादुरीपूर्वक खेल्दा खेल्दै हार्यो मात्रै भन्ने कि उसलाई एक्सपोजर दिने ?'  यो प्रश्न उठेको छ, जुन कुरा कप्तान रोहित पौडेलले मंगलवार वानखेडे स्टेडियममा भएको पत्रकार सम्मेलनमा खुलेरै उठाए ।  ‘हामीले टेस्ट राष्ट्रसँग खासै खेल्न पाएका छैनौँ। वेस्ट इन्डिजसँग मात्र बिग गेम खेल्ने अवसर पायौँ। हामीलाई एक्सपोजर चाहिएको छ ।’ उनले भने । 


    इङ्ल्यान्डसँग ४ रनले हार्नुको कारण  पनि कहीँ न कहीँ ठूला टिमसँ खेल्न नपाउनु र 'बिग स्टेज'मा 'प्रेसर ह्याण्डल' कसरी गर्ने भन्ने सिक्न नपाउनु हो । मौका पाएको खण्डमा परिणाम अर्कै हुन्छ भन्ने रोहितलाई लागेको छ । ‘यदि हामीले नियमित रुपमा यस्ता खेल, सिरिज खेल्न पायौँ भने राम्रो गर्न सक्छौँ। ५/६ वटा सिरिज चाहिन्छ भन्ने छैन । १/२ वटा भएपनि हुन्छ । आशा छ, यो विश्वकपपछि हामीमा केही न केही परिवर्तन आउनेछ।’ उनले भने । 

    रोहितले एक्सपोजर र अनुभवका लागि टेस्ट टोलीसँग काठमाडौंमा खेल्न चाहेको बताए । उनले भने, ‘हामी चाहन्छौँ– अस्ट्रेलिया, इंग्ल्यान्ड, इन्डियाजस्ता देशहरु आएर कीर्तिपुरमा हामीसँग खेलून्। उनीहरुले न्यानो स्वागत पाउनेछन्। र, यसका लागि म आशावादी पनि छु।’ 

    इंग्ल्यान्डसँगको पछिल्लो खेलबाट विशेषगरी कठिन परिस्थितिमा निर्णय लिने क्षमता र दबाब सम्हाल्ने पक्षमा महत्वपूर्ण सिकाइ भएकाे उनी बताउँछन ।  
    'विश्वकपमा खेल्दा दबाब अवश्य हुन्छ, दबाब जसले झेल्न सक्छ उही सफल हुन्छ । हामीले धेरै दर्शकको अगाडि पछिल्लो समय धेरै खेलहरू खेल्दै आएका छौं र दबाब सम्हाल्न सक्षम छौं।’ उनले भने, इंग्ल्यान्डसँगको खेलपछि हामीले क्रन्च सिचुएसनमा कसरी निर्णय लिने र दबाब सम्हाल्ने बारेमा सिकेका छौं । आगामी खेलमा त्यहीअनुसार प्लान गर्नेछौं । टोलीको आत्मविश्वास पनि राम्रो रहेको छ, आगामी खेलमा अझ राम्रो प्रदर्शन गर्नेछौं।’

    'दबाबबाट सम्हालिएर अघि बढ्छौं'

    इङ्ल्यान्डसँग जित नजिक पुगेर हारेपछि नेपाल दबाबमा छ । नेपाल पहिलो जितको खोजीमा छ । रोहितले वेस्ट इन्डिज र स्कटल्यान्डजस्ता टोलीहरूसँग खेल्दा दबाब झेल्नु र योजनाहरू सही ढंगले कार्यान्वयन गर्नु एकदमै महत्त्वपूर्ण हुने बताए । त्यसैले उनी ईटलीविरुद्धको खेललाई हल्का रुपमा लिने पक्षमा छैनन्। 

    ‘विश्वकप खेल्ने हरेक टिम राम्रो नै हुन्छ । पछिल्लो समय इटलीले पनि राम्रो प्रदर्शन गरिरहेको छ । त्यसकारण हल्का रूपमा लिने छैनौं’ उनले भने, ‘हामीले विश्वकपको उत्कृष्ट टोलीमध्ये एकसँग खेलिसकेका छौं, त्यसले इटाली विरुद्धको खेलका लागि मनोबल बढाएको छ।’

     इटली पहिलो खेलमा पराजित भएर वानखेडेमा आउँदै गर्दा नेपालका समूह चरणका सबै खेल मुम्बईस्थित वानखेडे स्टेडियममा हुनेछन् । जसलाई कप्तान रोहितले 'एडभान्टेज'का रुपमा लिएका छन् ।‘वानखेडे मैदानको विकेट नेपाली टोलीका लागि सुहाँउदो छ, यहाँ सबै खेल खेल्नु नेपालका लागि प्लस प्वाइन्ट हो’ रोहितले भने ।

    रोहितले विश्वकपमा ठूला टोलीसँगको खेलसँगै नेपाली खेलाडीले दबाबको बेला कसरी खेल्ने भनेर सिकेको बताउँछन् । 

    ‘‘जब विश्वकप खेलिन्छ, निश्चय नै त्यहाँ दबाब त हुने नै भयो, दबाब जसले झेल्न सक्छ उही सफल हुन्छ । पछिल्लो खेलबाट हामीले अन्तिम अवस्थामा हामीले दबाबलाई कसरी व्यवस्थापन गर्ने र खेल्ने भन्ने सिक्यौँ’, रोहितले भने,  हामीले अहिलेसम्म धेरै क्रिकेट खेलिसकेका छौँ। त्यसकारण पनि कसरी दबाबलाई ह्यान्डल गर्ने भनेर हामीले सिकेको छौं। ठूलो संख्याका समर्थकको अगाडि हामीले खेलिसकेका छौँ। इटलीविरुद्ध पनि त्यसैअनुसार खेल्छौँ।’

    ठूला टोलीसँग खेलेको अनुभव धेरै नभएकाले पनि टेस्ट राष्ट्रहरुसँग पछिल्ला नतिजाहरु आफूअनुकूल नआएको रोहितले बताए ।

    तर जारी विश्वकपका सबै खेल वानखेडेमा खेल्न पाउँदा रोहित खुशी छन्  । किनकी त्यसले‌ फाइदा पुग्ने उनको विश्वास छ । ‘हाम्रा सबै खेल वानखेडेमा हुँदा खुसी लागेको छ। त्यहाँको विकेट मैत्री वातावरण हामीअनुकूल पनि छ। त्यसले हामीलाई फाइदाको हुन सक्छ’, उनले भने।

    विश्वकपको प्रदर्शनबाट इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि केही खेलाडीले मौका पाउन सक्ने रोहितले विश्वास व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार