मुम्बई, २९ माघ । नेपालले सन् २०१४ मा पहिलो पटक सन् २०१४ मा बंगलादेशमा आईसीसी टी–२० विश्वकप खेल्यो ।अन्तरराष्टिय क्रिकेट खेलेको १८ र टि २० विश्वकप शुरु भएको सात वर्ष पछि नेपालले आफूलाई विश्वकप जस्तो ठूलो स्टेजमा उभ्यायो । जहाँ नेपालले शानदार शुरुवात पनि गर्यो ।
नेपालले तीन मध्ये दुई खेल जित्यो तर रन रेटका आधारमा बंगलादेशसँग पछि परेकोले अर्को चरणमा जान सकेन । तर आफ्नो प्रदर्शनका कारण नेपालले त्यो विश्वकपमा निकै चर्चा बटुल्यो ।
१२ वर्ष अघि अर्थात् २०१४ मार्च १६ मा नेपालले हङकङसँग विश्वकपको पहिलो खेल खेल्यो । बंगलादेशको चिटागोङस्थित जहुर अहेमद चौधरी स्टेडियममा भएको खेलमा नेपालले हङकङलाई ८० रनले हराएको थियो । त्यसपछि नेपालले अफगानिस्तानलाई ९ रनले स्तब्ध पार्दै पहिलो सहभागितामै २ खेल जित्यो । तर दुर्भाग्य नेटरनरेटमा नेपाल बंगलादेश भन्दा तल पर्यो र अगाडि जान सकेन् । त्यसयता नेपालले विश्वकपका चार खेल खेलेको छ तर जित हासिल गर्न सकेको छैन । अर्थात नेपाल १२ वर्षपछि पहिलो जितको खोजीमा छ ।
सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी–२० विश्वकपमा समूह चरणको चार मध्ये तीन वटा खेलमा नेपाल पराजित भएको थियो । श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएको थियो । नेपाल अघिल्लो विश्वकपमा दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्याण्ड्सँग पराजित भएको थियो । पहिलो खेलमा नेदरल्याण्डसँग ६ विकेटले पराजित भयो । १०६ रनमा अलआउट हुँदा नेपालले पुरै ओभर पनि खेल्न सकेको थिएन । दोस्रो खेल वर्षाका कारण हुन सकेन् ।
तेस्रो खेलमा नेपाल जित नजिक पुगेर पराजित भयो । टेस्ट टिम दक्षिण अफ्रिकासँग नेपाल मात्रै १ रनले पराजित भयो । ११५ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम बलमा पराजित भयो, जुन चोट नेपालले अहिलेसम्म बिर्सन सकिरहेको छैन । चौथो खेलमा पनि नेपाल जित नजिक पुग्दै गरेका बेला एक्कासी धराशायी भयो । १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमै अलआउट भयो र २१ रनले पराजित भयो । यो खेलमा पनि नेपाल पुरै ओभर टिकेर खेल्न सकेन् । ७८-५ को अवस्थमा रहेको नेपाल ८५ रनमा पुग्दा धराशायी भयो ।
जित नजिक पुगेर हार्ने पीडा यो पालिको विश्वकपमा पनि देखियो । जारी विश्वकपमा पहिलो खेल नेपालले मुम्बईस्थित वानखेडे स्टेडियमा दुई पटकको विश्व विजेता इंग्ल्याण्डसँग खेलेको थियो र जितको निकै नजिक पुगेर ४ रनले पराजित भयो । यस्तो पृष्ठभूमिमा नेपाल दोस्रो खेलमा इटलीको सामना गर्दैछ ।
वानेखेडेमा नेपाल मैदान उत्रिँदा १२ वर्षपछि फेरि जित निकाल्ने योजनामा हुनेछ । हुन त टि २० यस्तो फरम्याट हो, जहाँ जसले जसलाई पनि हराउन सक्छ । तर तुलनात्मक रुपमा इटली विश्वकप खेल्ने सबैभन्दा कमजोर वरियताको टिम हो । इटली २६औं र नेपाल १६औं स्थानमा छ । इटलीको यो डेब्यू टी–२० विश्वकप भएकोले अनुभवमा पनि नेपाल माथि छ ।नेपालीमा एउटा उखान छ- १२ वर्षपछि त खोला पनि फर्किन्छ ।' के विश्वकपमा नेपालको खोलो फर्किएला ।
१३ वर्षपछि भीड्दै नेपाल र इटली
नेपालले टि २० आईमा पहिलो पटक इटलीको सामना गर्न लागेको हो । तर, ५० ओभरको खेलमा भने नेपाल इटलीमाथि हावी छ । तीन पटक भीड्दा नेपालले सबै खेल जितेको छ
नेपाल र इटलीबीचको पहिलो खेल सन् २००५ मा मलेसियामा आयोजना भएको विश्वकप छनोट सिरिज डिभिजन २ मा भएको थियो, जहाँ नेपालले इटलीलाई हराएको थियो । यो खेलमा नेपालका लागि शक्ति गौचनले शतक हानेका थिए । शक्ति १ सय ३ बलमा नटआउट १ सय ६ रन बनाएका थिए ।नेपाल र इटलीबीच दोस्रो भेट सन् २०१० मा उसको घरैमा आयोजना भएको विश्वकप लिग डिभिजन ४ मा ईटलीमै भएको थियो, जहाँ नेपालले ५ विकेटको जित हासिल गरेको थियो ।
तेस्रो तथा इटलीसँगको पछिल्लो भेट सन् २०१३ मा बर्मुडामा भएको विश्वकप लिग डिभिजन ३ मा भेट भएको थियो । यो खेलमा नेपालले इटलीलाई ८ विकेटले हराएको थियो ।


