मुम्बई ।आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालले इटालीसँग १० विकेटको लज्जास्पद हार ब्यहोरेको छ । बिहीबार मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले बिना क्षती १२.४ ओभरमा पूरा गर्यो ।
इटालीका लागि जस्टिन मोस्का र एन्थोनी मोस्का अर्धशतक बनाउँदै अविजित रहे । एन्थोनीले ३२ बलमा ६ छ्क्का र ३ चौकासहित ६२ र जस्टिनले ४४ बलमा ३ छ्क्का र ५ चौकासहित ६० रन बनाए । पहिले टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रनको योगदान दिए । यस्तै, कप्तान रोहितकुमार पौडेलले २३ र आसिफ शेखले २० रन जोडे । करण केसीले १८ र उपकप्तान दीपेन्द्रसिंह ऐरीले १७ रन जोड्दा कुशल भुर्तेल ५ रन जोडेर पभिलियन फर्किएका थिए । लोकेश बम र गुल्सन झा समान ३-३ रन जोडेर आउट भएका थिए । इटालीका लागि कृशान कालुगामाङेले सर्वाधिक ३ विकेट लिए । बेन मानेन्टीले २ विकेट लिँदा अलि हसन, जस्प्रित सिंह र जेजे स्मुथले समान १-१ विकेट लिए ।
योसँगै विश्वकपमा इटालीले पहिलो जित निकालेको छ । नेपालले भने लगातार दोस्रो हार ब्यहोरेको छ । र, लगातार दोस्रो हारसँगै नेपालको सुपर-८ प्रवेशको सम्भावना निकै कमजोर भएको छ ।
नेपाल यसअघि पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । इटाली भने आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो । अब नेपालले तेस्रो खेलमा १५ फेब्रुअरीमा वेष्ट इन्डिजसँँग प्रतिस्पर्धा गर्नेछ ।


