मुम्बइ । टि-२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भयो । नेपाली क्रिकेटप्रेमीलाई यो हार यति पीडादायी भएको छ कि उनीहरुलाई त्यो स्वीकार्न गाह्रो भैरहेको छ । खेल हेरेर फर्किँदै गर्दा धेरैजसोको प्रतिक्रिया थियो- यस्तो हुनै नपर्ने हो, जे भयो यो स्वीकार्न गाह्रो छ ।'
नेपाली क्रिकेट प्रेमीलाई ईटलीसँगको यो हार स्वीकार्न किन पनि गाह्रो भैरहेको छ भने यो त्यही नेपाली टिम हो, जसले आईतवार दुई पटकको विश्व च्याम्पियन इंग्ल्याण्डलाई झण्डै हराईसकेको थियो । १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल १८० रन बनाउँदै जम्मा ४ रनले पराजित भएको थियो ।
इंग्ल्याण्डलाई आच्छु आच्छु पारेपछि विहीवार नेपालले इटलीलाई सहजै हराउने उनीहरुको अनुमान थियो । तर त्यसविपरित नेपाल ब्याटिङ र बलिङ दुवैमा इटली सामू निरिह सावित भयो । ईटलीले यसरी डोमिनेट गर्यो कि नेपाल कुनै पनि बेला खेलमा देखिएन् । पहिले बलिङबाट डोमिनेट गरेर नेपाललाई १२३ रनमा रोकेको इटलीले पछि ब्याटिङमा यसरी हान्यो कि १२ ओभर ४ बलमा बिना क्षति खेल जित्यो ।
खेलमा जित हार हुन्छ तर नेपालले यो विश्वकपमा सबैभन्दा कमजोर वरियताको टोलीसँग निकै अनपेक्षित खेलेर हार्यो, जसलाई स्वीकार्न क्रिकेट प्रेमीलाई गाह्रो भैरहेको छ ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे । बाँकी खेलाडीले २० रनको आँकडा समेत छुन सकेनन् ।नेपालको शुरुवातनै खराब भयो । कुशल भूर्तेल १० बलमा पाँच रन बनाएर आउट भए, जति बेला टिमको खातामा मात्रै ८ रन थियो ।
सुरुवाती ७ बल डट खेलेका भुर्तेलले जम्मा १ चौका प्रहार गरे । उनलाई इटलीका अली हसनले जस्टिम मोस्काबाट क्याचआउट गराए । भुर्तेल आउटभएपछि कप्तान रोहित पौडले र ओपनर आशिफ शेखले स्कोरलाई अझ गति दिने प्रयास गरे ।
रोहित पौडेलले आज अलि आक्रामक खेल्ने कोशिस गर्दै १४ बलमा २ छक्का प्रहार गरी २३ रन बनाए । रोहितलाई सातौं ओभरको अन्तिम बलमा क्रिसन कालुगामागेले आउट गरे । त्यसपछि अर्का ओपनर आसिफ शेख २० बलमा २० रन जोडेर आउट भए । दोस्रो विकेटका लागि आसिफ र कप्तान रोहित पौडेलको ४१ रनको साझेदारी गरे जतिबेला स्कोर ४९ रन थियो ।
त्यसपछि उपकप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले नेपालको इनिङ्स सम्हाल्दै अघि बढाए । उपकप्तान दीपेन्द्रल १८ बलमा १७ रन बनाएर आउट भए । उनले कुनै पनि बाउण्ड्री लगाउन सकेनन् ।
चौथो विकेटका लागि ४४ रनको साझेदारीपछि दीपेन्द्र सिंह ऐरी १४ओ ओभरको पाँचौ बलमा कालुगामागेको शिकार भए ।
पहिलो खेलमा इंग्ल्याण्ड विरुद्ध आक्रमक ब्याटिङ गर्दै सबैको प्रशंसा र चर्चा कमाएका लोकेश बम आज फ्लप भए । उनी ५ बल खेल्दै ३ रन बनाएर आउट भए । आरिफ शेख स्कोर १०० पुगेपछि छैटौ विकेटका रुपमा आउट भए । उनले २४ बलमा ३ चौका प्रहार गरी २७ रन बनाए ।
त्यसपछि १७औं ओभरमा नेपालले थप २ विकेट गुमायो । गुल्सन झा ४ बलमा ३ रन बनाएर आउट भए भेन नन्दन यादव खाता नखोली पेवेलियन फर्किए । नन्दन रन आउट भए ।
त्यसपछि करण केसी र सन्दीप लामिछानेले इनिङ्स सम्हाल्ने कोशिस गर्दै नवौँ विकेटका लागि २१ रनको साझेदारी गरे । सन्दीप अन्तिम ओभरको पहिलो बलमा ५ रन बनाएर आउट भए । त्यसपछि आएका ललित राजवंशी खातानै नखोली दशौं विकेटका रुपमा रनआउट भए र नेपाल तीन बल अघिनै अलआउट भयो । करण केसी ११ बलमा १८ रन बनाएर नटआउट रहे ।
नेपालको इनिङ्स ध्वस्त पार्न इटलीका स्पीनर हावी भए । इटलीका स्पीनरले ६ विकेट लिए । इटलीका लागि लेगस्पीनर क्रिसन कालुगमागेले सर्वाधिक ३ विकेट लिए । यस क्रममा उनले ४ ओभरमा १८ रन खर्चिए ।
उनले नै नेपालका भरपर्दा ब्याटर दीपेन्द्रसिंह ऐरीलाई आउट गरेपछि नेपालको मध्यक्रम ध्वस्त हुँदै गयो । दीपेन्द्र चौथो विकेटका रुपमा आउट हुँदा नेपालले १३ ओभर ५ बलमा ९३ रन बनाएको स्थिति थियो । तर १०२÷८ १६ . ५ को अवस्थामा पुग्यो। यही कोल्याप्सले नेपाल डुब्यो ।
बेन्जामिन मानेन्टीले ४ ओभरमा ९ रन मात्र खर्चेर २ विकेट लिए । नेपालका ब्याटरहरूले वानखेडेको कन्डिसनमा राम्रोसँग खेल्न सकेनन्। खराब रनिङ र गलत शट सेलेक्सनका कारण नेपालले विकेट दिँदै गयो । पावर हिटिङ गर्न उनीहरु चुके । कमजोर स्कोर खडा गरेपनि नेपालले फाइट गर्छ भन्ने थियो, तर बलिङमा पनि नेपाल फिक्का सावित भयो। कुनै पनि विकेट लिन सकेनन। इटालीका जस्टिन मोस्का र एन्थोनी मोस्काले उनीहरुलाई निरिह बनाइदिए र नेपालले सबैभन्दा खराब हार बेहोर्यो ।
इटालीका लागि ओपनर जस्टिन मोस्का ६० र एन्थोनी मोस्का ६२ रनमा नटआउट रहे । एन्थोनीले २८ बलमा अर्धशतक बनाए।
यो हारले नेपालको सुपर ८ यात्रालाई कठिन बनाएको छ। नेपालले अब अर्को खेलमा वेस्ट इन्डिजसँग राम्रो प्रदर्शन गर्नुपर्ने दबाब छ। नेपालले आइतबार वानखेडेमै वेस्ट इन्डिजसँग खेल्नेछ ।


