काठमाडौं । टि-२० विश्वकपमा नेपालले १२ वर्षपछि जित हासिल गरेको छ ।
मुम्बईको वानखेडे स्टेडियममा स्कटल्याण्डलाई ७ विकेटले हराउँदै नेपालले १२ वर्षपछि जितको स्वाद चाखेको हो ।
नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा २ खेल जितेकाे थियो। पहिलो पटक विश्वकप खेल्दा नेपालले सन् २०१४ मा हङकङलाई ८० रनले हराएको थियो।
समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले हराएको थियो। त्यसयता नेपालले विश्वकपमा जित निकाल्न सकेको थिएन।
तर मंगलवार नेपालले स्कटल्याण्डमाथि जित हासिल गर्दै भारत र मुम्बईमा जारी यसपालिको विश्वकपमा सुखद अन्त्य गर्यो ।
दोस्रो पटक नेपालले सन् २०२४ मा विश्वकप खेल्दा जितविहीन यात्रा टुङ्ग्याएको थियो । तर यसपटक त्यो खडेरी तोडियो ।
जारी विश्वकपको समुह चरणमा नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन, दोस्रो खेलमा इटालीसँग १० विकेट र तेस्रो खेलमा वेष्ट इण्डिजसँग ९ विकेटले पराजित भएको थियो ।
वानखेडे स्टेडियममा स्कटल्यान्डले दिएको १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले ४ बल अगावै ३ विकेटको क्षतिमा पुरा गर्यो ।
नेपालका लागि दीपेन्द्र सिहं ऐरि ५० गुल्सन झा २४ रनमा नटआउट रहे । दीपेन्द्र २ बलमा आक्रामक ५० रन बनाए ।
नेपालका लागि दीपेन्द्रले २० औँ ओभरको पहिलो बलमा २३ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे। जारी विश्वकपमा यो दीपेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो। यसअघि उनले वेष्ट इण्डिजविरुद्ध अर्धशतक हानेका थिए। गुल्सनले १७ बलमा १ चौका र २ छक्का सहयोगमा २४ रनमा नटआउट रहे । उनले विजयी चौका हाने ।
चौथो विकेटका लागि दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले ७३ रनको साझेदारी गरेपछि नेपालले जारी विश्वकपमा पहिलो जित हात पार्यो । ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए । उनले ३५ बलमा १ चौका ६ छक्का हाने ।अर्का ओपनर आशिफ शेख ले२७ बलमा २ छक्का सहयोगमा ३३ रन बनाए ।
नेपालका लागि कुशल र आशिफले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरे । उनीहरुले पहिलो पावर प्लेमा ५६ रन हाने ।
कप्तान रोहित पौडेल १४ बलमा १ चौका मद्दतमा १६ रन बनाए । स्कटल्यान्डका लागि सबै ३ विकेट माइकल लिस्कलेनै लिए ।
त्यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७० रन बनाएकाे थियाे । स्कटल्याण्डका लागि माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए ।
जोन्सले ४५ बलको सामना गर्दा ८ चौका र तीन छक्का हाने । यस्तै जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रनको योगदान गरे । एक समय विशाल योगफलतिर अघि बढेको स्कटल्याण्डलाई सोमपाल कामीले जोन्सलाई आउट गरेसँगै ब्रेक लाग्यो ।
नेपालका लागि सोमपाल कामीले तीन, नन्दन यादवले २ तथा रोहित पौडेल र कुशल भुर्तेलले समान १ विकेट लिए ।


