२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

कम्युनिस्ट आन्दोलनः पुनर्जागरण र पुनर्निर्माणको आवश्यकता

कम्युनिस्ट आन्दोलनः पुनर्जागरण र पुनर्निर्माणको आवश्यकता

बुधबार, चैत १८ २०८२
  • images
    images
    कम्युनिस्ट आन्दोलनः पुनर्जागरण र पुनर्निर्माणको आवश्यकता

    नेपालको कम्युनिस्ट आन्दोलनमा यतिबेला  पुनर्जागरण  पुनर्निर्माण र पुनर्गठनको बहस चलेको छ । तर, बहसका विषय वस्तु के बनाउने, त्यो बहस कसरी गर्ने, त्यसको आधार के हुने ? जस्ता कुराहरु अहिले पनि अन्योलमै छन तथापि सामान्यतया बहसप्रति देखिएको उत्साहलाई  सकारात्मक रुपमा लिनुपर्दछ,  त्यसमा अन्तरनिहीत  प्रवृत्ति, चिन्तन र दृष्टिकोणहरुमा  अलि बढी  स्पस्टताको आवश्यकता कम्युनिस्ट आन्दोलनलाई केवल राजनीतिक आन्दोलन वा, गतिविधिसँग सीमित गरेर चल्ने  बहसले पक्कै पनि आजको समस्या समाधान हुन सक्दैन । त्यसैले कम्युनिस्ट आन्दोलनले  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा खाँदै आएको धक्का, त्यसले पारेको प्रभाव र  आजका चुनौती तथा भविष्यको गन्तव्य समेतलाई ध्यान दिएर बहस गर्नु पर्ने हुन्छ ।


    images


    अहिले बहसको केन्द्रीय विषयवस्तुहरु  विचार, राजनीति, संगठन, नेतृत्व, संस्कृति, वर्गसंघर्ष, कार्यशैली भू– राजनैतिक प्रभाव, विज्ञान प्रविधिमा भएको विकास र उत्पादन सम्बन्धमा आएको फेरबदल समेतलाई ध्यान दिनु पर्ने देखिन्छ । यिनै विषयहरुमा छलफल र बहस  गरेरनै अहिलेको कम्युनिस्ट आन्दोलनमा उपयुक्त निकास निकाल्न सकिनेछ । त्यसका लागि कुनै त्यस्तो भरपर्दो औपचारिक प्लेटफर्म  अन्तर्राष्ट्रिय रुपमा पनि नरहेको र राष्ट्रिय रुपमा पनि कम्युनिस्ट आन्दोलन विभाजित अवस्थामा रहेकोले  त्यति सजिलो भने छैन । तर, आवश्यकताका दृष्टिकोणले त्यो यतिबेला अनिवार्य जस्तै बन्न पुगेको छ । 


    पहिलो कुरा, कम्युनिस्ट आन्दोलनको विभाजन सही आफैंमा होइन, माक्र्सवादले सर्वहारा वर्गको अलगअलग पार्टीको कल्पना गरेको  थिएन र कुनै पनि देशमा मजदुर वर्गको अलगअलग पार्टी बन्न हुन्न । त्यो मान्यता एकातिर छ भने, अर्कोतिर विभिन्न देशमा कम्युनिस्ट आन्दोलनको नाममा एक भन्दा धेरै पार्टीहरु छन । ती सबैले “संसारका मजदुर एक हौं“ भन्ने नारा पनि लगाइ रहेका छन वा लगाइरहेका  छौं । यो नै हाम्रो बहसको प्रस्थान  विन्दु हुनु पर्दछ । कम्युनिस्टहरु आफै विभाजन हुन मिल्छ कि मिल्दैन ? बहस यहाँबाट शुरु गर्न पर्छ होला । यदि सच्चा कम्युनिस्ट हो भने उनीहरु फुट्न मिल्दैन र उनीहरुको  अलगअलग  पार्टी  रहन पनि हँुदैन । त्यसैले क्रान्तिकारी कम्युनिस्टहरु यदि अलगअलग  ठाउँमा छन भने ती एक हुनुपर्छ । तर, अहिलेको  अवस्था के छ भने एक अर्कोलाई  कम्युनिस्ट पनि भन्ने अलगअलग पनि बस्ने जुन परम्परा छ त्यो कम्युनिस्ट आन्दोलनका लागि मजाक मात्रै हो ।  यो प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई  आ– आफ्ना ठाउँबाट विसर्जनमा लैजान्छ ।

    यो सत्य हो, कैयौं असरवादीहरुले कम्युनिस्ट आन्दोलनको नाममा भ्रम सिर्जना गर्दै आएका छन । त्यसलाई  हल गर्न मुख्यतः वैैचारिक हिसाबले भण्डाफोर, वर्गसंघर्षको आधारमा उनीहरुको वर्गीय पक्षधरताको उजागर, पूँजिवाद÷प्रतिक्रियावादीशक्ति सङ्गको सम्बन्ध र जनताका न्यायिक प्रश्नमा देखिने उदासीनताले अवसरवादीहरुको सजिलै पहिचान हुन्छ र गर्नुपर्छ ।

    तर, समस्या  अवसरवादको भन्दा पनि क्रान्तिकारी कम्युनिस्टहरुमा रहेका कमजोरीको वस्तुनिष्ट समिक्षा र माक्र्सवादको गतिशील सिद्धान्तको जगमा अफ्ना विशेषतामा रणनीति, कार्यनीति, योजना र कार्यक्रममा विकास गर्न नसक्दा कम्युनिस्ट आन्दोलनमा वैचारिक समस्या रहेको देखिन्छ । चिनियाँ समाजको सापक्षेता र विशिष्टतालाई  आत्मसात गर्दै  जसरी माओत्सेतुङले माक्र्सवाद लेनिनवादमा सिर्जनात्मक विकास गरे, त्यसको अभाव अहिले विश्वब्यापी संकट हो । जबसम्म यो समस्यालाई हल गरिदैँन, तवसम्म वैचारिक अवरुद्धताको निकास  खोज्न गाह्रो हुन्छ ।  कम्युनिस्ट आन्दोलनको पछिल्लो करिव  ५०÷ ६० वर्षको मूल समस्या यहीनै हो । 

    चीनमा भएको प्रतिक्रान्तिपछि  विश्वका विभिन्न देशमा भएका सशस्त्र संघर्षहरु प्रायः असफलता तथा साम्राज्यवादले  नव– उदारवादी अर्थतन्त्रको जगमा फैलाएको कर्पोरेट पूँजिको  विबश्वब्यापी  प्रभावलाई  प्रतिवाद गर्न तथा  कम्युनिस्ट आन्दोलनलाई नयाँ रुपमा सङ्गठित गर्न नसकिरहेको सन्दर्भमा स्वाभाविक कैयौं प्रश्न उठिरहेका छन ।


    आजको संकट कम्युनिस्ट आन्दोलनको होइन, यो  पूँजिवादकै संकट हो ।  पूँजिवादले  आफ्नो बचाउ र समाजवादी अर्थतन्त्रविरुद्ध अगाडि सारेको नव उदारवादको  पनि असफलता  हो । यो विषयमा यहाँ चर्चा गरिने छैन र मुख्यतः कम्युनिस्ट आन्दोलनको  पुनर्जागरण, पुनर्निर्माण र पुनर्गठनका  सन्दर्भमा नै चर्चा  गरिनेछ ।  कम्युनिस्ट आन्दोलनको आधरभुत विषय भनेको  सिद्धान्तको पुनर्जागरण नै हो । माक्र्सवादको आधरभुत मर्म भनेको प्रकृति तथा समाजको गतिशीलतासङ्गै आफूलाई विकसित गर्नु हो ।  

    उक्त सिद्धान्तहरुलाइ शुुत्रको रुपमा होइन, समयको गतिमा प्रयोगद्वारा पुनर्पुष्टि गर्नु  कम्युनिस्टहरुको कार्यभार हो। माक्र्सवादको उदय देखि अहिलेसम्म  उत्पादनका साधन,  विज्ञान प्रबिधि र  चिन्तनको स्रोतहरुमा भएको विकासको  पृष्ठभूमिमा विचारको विकास  हो ।  त्यो विषयमा कम्युनिस्टहरुको खोज, अनुसन्धानको पक्ष एकदम कमजोर हुँदै जाँदा स्वयं कम्युनिस्ट आन्दोलन अहिलेको अवस्थामा आएको हो  । जसको परिणाम एकातिर, सिद्धान्तको रक्षाका नाममा  समयको गतिलाई ठिकसङ्ग  आत्मसात गर्न नस्क्दा जडसुत्रवादी गल्ती हुने र अर्कोतिर, सिद्धान्तको सिर्जनात्मक  विकासको नाममा माक्र्सवादका आधरभुत  सिद्धान्तलाई  तिलान्जली दिएर दक्षिणपन्थी  भड्कावमा पुग्ने र कम्युनिस्ट आन्दोलनलाई  पूँजिवादको  छत्रछायाँमा कैद गर्ने  जुन प्रवृत्तिहरु देखापर्दै आए, त्यसले कम्युनिस्ट आन्दोलनको  मौलिक  विचारको विकासमा गतिरोध उत्पन्न हुँदै आएको छ । जवसम्म यी गल्तीप्रति निर्मम समिक्षा गर्दै, आजको अर्थराजनीति, समाजशास्त्रीय अध्ययन  विज्ञान प्रविधिमा भएको विकास ,उत्पादनका साधनमा आएको परिवर्तनलाई समेत ध्यान दिएर वर्गसंघर्षको जगमा आन्दोलन विकास गरिदैन तबसम्म  कम्युनिस्ट आन्दोलनले ठिक दिशा र गति लिन सक्दैन । 

    कम्युनिस्ट आन्दोलनको  पुनर्जागरण भनेको विचारको बिकास नै हो ।जस्तो सामन्तवादको विरुद्धको सघर्षमा पुनर्जागरणकालको ऐतिहासिक महत्व छ , त्यसै गरी  पूँजिवाद ÷ साम्राज्यवाद विरुद्धको पुनर्जागरणले नै समाजवादको यात्रा सहज बन्ने निश्चित छ । त्यो पुनर्जागरण  भनेको विचार, राजनीति, संगठन, सघर्ष, संस्कति, नेतृत्व समेतको  पुनर्जागरण हो । कम्युनिस्ट आन्दोलनको आजको चुनौती वैैचारिक बहसको ह्रास र नयाँ पुस्तामा जागरण, उत्साह पैदा गर्न नसक्नु नै हो ।

    त्यो समस्याको समाधानका लागि माक्र्सवादी साहित्य,  माक्र्सवादी  सिद्धान्तलाई  अहिलेको विकसित विज्ञान  प्रविधिसङ्ग जोड्ने र त्यसको प्रयोगद्वारा थप अद्यावधिक गर्ने, माक्र्सवादी  चिन्तन र बहसलाई  निश्चित पार्टी  पङक्तिको घेराभन्दा फराकिलो बनाउँदै आम जनता र विशेषत नवपुस्तासङ्ग  पुर्याउनु अनिवार्य छ । सामान्यतया युवा पीढि  स्वयंमा रुढीगत सोचाइ र परम्परा त्याग्ने र नयाँ विचारप्रति आकर्षण हुने पंक्ति हो ।  तर, विडम्बना   युवापुस्ता ऐतिहासिक हिसाबले  पुरानो भैसकेको  पूँजिवादी उत्पीडनबाट विद्रोह गर्ने  उत्साहमा जुन ह्रास आएको छ त्यसको मुख्य कारण  वैैचारिक बहसको अभाव र माक्र्सवादी सत्यतालाई समाजको यथार्थसङ्ग ब्यवहारमा प्रयोग गर्न नसक्नुनै हो ।
    त्यसैको परिणाम कम्युनिस्ट आन्दोलनले विभिन्न भड्काव बेहोर्नु परको छ । यो यथार्थलाई  आत्मसात गर्दै समाग्र आन्दोलनलाई माथि उठाउने  महान उद्देश्य साथ  कम्युनिस्ट आन्दोलनको पुनर्जागरण आवश्यक  छ । त्यसैले बिचार, राजनीति, संगठन, सघर्ष र साँस्कृतिक पुनर्जागरण सहित कम्युनिस्ट आन्दोलनको पुनर्गठन र पुनर्निर्माण आवश्यक छ ।

    कम्युनिस्ट आन्दोलन सामान्य राजनीति मात्रै नभएर अहिलेसम्मकै आधुनिक वैैज्ञानिक र  विकसित बिचार र सिद्धान्त रहेकोले त्यसको  सिर्जनात्मक प्रयोग आजको चुनौती पक्कै बनेको छ । जस्तो अत्याधुनिक प्रविधिको  उपदेयता  त्यसको सही प्रयोगले मात्र पुष्टि हुन्छ, ठिक कम्युनिस्ट आन्दोलनको  सच्याइलाइ पनि समाजको ऐतिहासिक विकासले पुष्टि गर्दै आएको छ र गर्ने छ ।

    आज कम्युनिस्ट आन्दोलनका विद्यार्थीले ध्यान दिनुपर्ने मुख्य विषय भनेको विगतमा भएका  कतिपय कमजोरी वा असफलताबाट मुर्छित हुने होइन, बरु तिनको वस्तुनिष्ट समिक्षा गर्दै, कम्युनिस्ट आन्दोलनको उज्ज्वल भविष्यलाइ केन्द्रमा राखेर पुनर्जागरण, पुनर्गठन र पुनर्निर्माण गर्दै जाने हो । नेपालमा  वैचारिक पुनर्जागरण आवश्यक र संभव दुवै छ, त्यसका लागि  वैैज्ञानिक खोज अनुसन्धान, अध्ययन र बौद्धिक बहस तथा नयाँ पुस्तामा आलोचनात्मक चेतनाको  विकास गरेर मात्रै पुनर्निर्माण र पुनर्गठनले सार्थकता पाउन सक्नेछ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार